

एलआईसी नेपालले दियो प्रधानमन्त्री दैवी उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग




काठमाडौं । भारत सरकारको समेत लगानी रहेको नेपालको एक मात्र पुरानो र ठूलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदान भएको सो सहयोगले देशभर बाढी, पहिरो र डुबानका कारण क्षती व्यहोरीरहेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्न थप राहात पुग्ने कम्पनीले अपेक्षा गरेको हो ।
उक्त रकम हस्तान्तरण गर्न स्वयम प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमार उपस्थित भएका थिए । त्यस्तै, एलआईसी नेपालका कम्पनी सचिव एवम् सूचना अधिकारी सुदर्शन गिरीको समेत उपस्थिती रहेको थियो ।
नेपाली बीमा क्षेत्रको धरोहरको रुपमा स्थापित एलआईसी नेपालले नेपालमा जीवन बीमाको संस्कारलाई स्थापित गर्न खेलेको भुमिकादेखी हालसम्म बीमित र शेयरधनीहरुमाझ अटुट विश्वास कायम गर्दै कम्पनीले नागरिकका अधिकांश जोखिमहरु बहन गर्दै आएको छ । विपतको बेलामा आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै कम्पनीले बेला बेला विगतदेखि नै यस्तो सहयोग प्रदान गर्दै आएको अवस्था छ ।
नेपाली बीमा क्षेत्रले अधिकांश अवस्थामा भारतिय एक्चुरीको भर पर्नु पर्ने अवस्था कायम रहिरहेको बेलामा एलआईसी नेपाललाई नेपाली जीवन बीमाको गर्विलो इतिहास बोकेको गुरु संस्था (लिडर कम्पनी) को रुपमा पनि चिन्न सकिन्छ।