

कर छली गर्ने कुरियर कम्पनीसहित ७ जनाविरुद्ध १ अर्ब ३६ करोड माग गर्दै मुद्दा




काठमाडौं । राजस्व अनुसन्धान विभागले अनलाइन कारोबार गरेर कर छली गरेको भन्दै कुरियर कम्पनीलाई १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर दर्ता गरेको छ।
सोही विभागले काठमाडौंको तीनकुनेस्थित ‘नेपाल क्यान मुभ प्रालि’ र त्यसका सञ्चालकसहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।
विभागका अनुसार कम्पनीले नेपाल क्यानमुभ डटकमको सर्भर अस्ट्रेलियामा राखेर नेपालमा कारोबार गरेर कर छलेको पार्ईएको छ ।
त्य्स्तै, विभागले उक्त पोर्टलका सञ्चालकहरू सुदिप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिष प्रसाद आचार्य, मिठु पौडेल र कम्पनीका उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई प्रतिवादी बनाएको छ।
उक्त कम्पनीले पोर्टलको सर्भर अस्ट्रेलियामा राखी सेवा बिक्रीको ठुलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको भ्याट आय विवरणमा नदेखाएको र बिक्री आय लुकाई छिपाई ठुलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले मूल्य अभिवृद्धि कर र आयकर समेत ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ करयोग्य कारोबार लुकाएको विभागले जनाएको छ, ।
विभागले कर छली भएको कूल बिगो रकम ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ कायम गरेको छ । राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ अनुसार बिगोको शतप्रतिशत जरिवाना अर्थात् ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ थप गरी कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुलउपर गर्न माग दाबी गरेको छ।
साथै, कम्पनीका मुख्य सेयर धनीहरू सुदिप आचार्य र जीवन ज्ञवालीलाई पटक–पटक ताकेता गर्दा पनि उपस्थित नभई फरार रहेको विभागले जनाएको छ। उपकार्यकारी निर्देशक सङ्गम पौडेललाई भने मुख्य कसुरदारलाई सहयोग गरेको भन्दै मतियारका रूपमा आधा सजायको माग गरिएको हो।