

सेयर बजारमा बढ्दो आकर्षणः लगानी साक्षरताको खाँचो




(लेखक : परिवर्तन देवकोटा, एक सक्रिय आर्थिक पत्रकार हुन् )
मुलुक डिजिटल युगमा प्रवेश गरेसँगै सेयर बजारमा क्रान्ति आएको छ । स्कुल कलेजमा अध्ययनरत विद्यार्थी हुन् वा घरधन्दामै सीमित व्यक्तिहरू, औपचारिक शिक्षा हासिल नगरेका व्यक्तिहरू हुन् वा विज्ञ कहलिएकाहरु, यी सबैको कमाइ गर्ने थलोको रुपमा पछिल्लो समय सेयर बजार विकसित भएको छ । विशेष गरी कोरोना महामारी पछि नेपालमा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको हो । डिजिटलाइजेसनले व्यापकता पाएसँगै नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले सेयर जारी गर्दा मुलुकको सेयर बजारमा एक किसिमको कम्पन नै पैदा भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा ५ सय ९० वटा डिम्याट खाता रहेकोमा आव २०७५/७६ सम्ममा त्यो बढेर १५ लाख २९ हजार भन्दा बढी पुग्यो ।
त्यसपछि २०७७/७८ मा यो संख्या बढेर ३७ लाख २६ हजार भन्दा बढी पुग्यो । आव २०८१/८२ को बैशाखसम्म डिम्याट खाता ६७ लाख १३ हजार भन्दा बढी पुगेको छ । यस्तै २०७५/७६ मा १५ हजार हाराहारी रहेको टिएमएस खाता चालु आवको आठ महिनासम्ममा ५७ लाख ७६ हजार भन्दा बढी पुगेको छ । जसमध्ये सक्रिय मेरो सेयर प्रयोगकर्ता ३९ लाख ७४ हजार भन्दा बढी छन् । यसबीचमा नेप्से परिसूचक ३ हजार २ सय विन्दुसम्म पुगिसकेको छ । विभिन्न किसिमका उतारचढावका बावजुद परिसूचक २०८२ वैशाख ४ मा २७२२.७३ विन्दुमा पुगेको छ । पछिल्लो एक दशकमा सेयर बजारले फड्को मारेको नेपाल स्टक एक्सचेञ्ज र सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका यी तथ्यांकले देखाउँछन् ।
बजार थप त्यतिबेला बढ्न पुग्यो, जतिबेला विश्व कोरोना महामारीमा फस्यो । विश्व कोरोना महामारीले आक्रान्त पारेको समयमा अन्य क्षेत्रमा लगानी गर्ने त के बाहिर निस्कनेसम्म पनि सोच्ने अवस्था थिएन । जसले गर्दा नागरिकहरू घर बाहिर निस्कन पाएनन् । यसबीचमा मुलुकले फाट्टफुट्ट प्रविधिको प्रयोग गर्ने गरेको मात्र थियो ।नागरिकले बन्द कोठामा बसेर प्रविधिकै माध्यमबाट धेरै काम गर्न बाध्य भए । धेरै मुलुकमा वर्क फर्म होम अवधारणा समेत अगाडि सारियो । यस्तो अवस्थामा एकातिर इंगेज हुनु थियो भने अर्कातिर थोरै भएपनि आम्दानी गर्नुपर्ने थियो । नागरिकले सहज एवम् सरल माध्यम रोजे–सेयर बजार । सेयर बजारमा लगानी गर्ने र मनग्य आम्दानी गर्ने सोचले धेरैले कोरोना महामारीको समयमा सेयर बजारमा प्रवेश गरेका थिए । सोही समयमा नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले ठूलो आकारमा प्राथमिक सेयर (आइपीओ) निष्काशन गरेपछि धेरैले सेयर बजारप्रति चासो राख्न थाले । २०७७ माघ १६ गते निफ्राको आइपीओ बाँडफाँट गरिएको थियो । निफ्राको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलका अनुसार आइपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको थियो । जुन नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको थियो । योग्य आवेदक सबैले आइपीओ पाएका थिए । यसबाहेक ६ हजारभन्दा बढीको आवेदन रद्द भएको थियो । १५ लाख २९ हजार भन्दा बढी नागरिकले आइपीओ भरेको नेपालको इतिहासमै यो पहिलो पटक थियो । यसले पनि सेयर बजारमा सो समयमा नागरिकको चासो र प्रवेश उल्लेख्य बढेको देखाउँछ । यतिमात्र नभई पछिल्ला समय प्राथमिक सेयर जारी गरिएको अवस्थामा माग संख्या भन्द्या ५ गुणासम्म बढी आवेदन पर्ने गरेको तथ्यले पनि सेयर बजार पछिल्लो समय सबै वर्गका नागरिकका लागि आम्दानी गर्ने थलोको रुपमा विकास हुँदै गएको देखिन्छ ।
डिजिटाइजेसनको भूमिका
सेयर बजारमा पछिल्लो समय युवा वर्गदेखि गृहिणी, वैदेशिक रोजगारीमा गएका नागरिक, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक, कलेजका विद्यार्थी तथा विभिन्न पेशाकर्मीहरू समेत आकर्षित भइरहेका छन् । डिजिटल प्रविधिको सहज पहुँच, हात हातमा स्मार्ट फोन जस्ता विकासका कारण सेयर बजारमा लगानीकर्ताको प्रवेश बढ्दै
गएको छ । विगतमा सीमित क्षेत्रका व्यवसायी, सीमित वित्तीय जानकार वा बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूले मात्र सेयर कारोबार गर्ने गरेका थिए । तर कोरोना महामारी र बजारमा निफ्राको प्रवेशसँगै सेयर बजारमा प्रवेश गर्नेको लर्को
लाग्यो । माहोल नै सेयर बजारको बनिदियो । डिजिटल प्रविधिको सहजताका कारण घरमै बसी बसी कारोबार गर्न सकिने सहज प्रणाली सेयर बजारमा भित्रियो । यसमा युवाहरूको बढ्दो प्रवेशले सेयर बजारलाई नयाँ उचाइमा पुर्याएको छ । अहिले सेयर बजार नसुन्नेमा केही दूरदराजका ज्येष्ठ नागरिक समूहमात्रै पर्लान् । यसबाहेक किशोर उमेरका,कलेज जान सुरू गरेका प्रायः विद्यार्थीहरू यसमा जोडिएका छन् । यसबाहेक महामारीकै समयमा घर भित्रै रहनुपरेका नागरिकले आम्दानीको विकल्प स्वरुप सेयर बजारलाई रोजेर बजारमा प्रवेश गरेका थिए । निफ्राको आइपीओ निष्काशन पछि केही समय आइपीओ भर्नको लागि खाता खोल्नेको होडबाजी नै चलेको थियो । दिनदिनै डिम्याट खाताको संख्या बढ्दै गएको थियो । यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पूरानो म्यानुअल प्रणाली हटाएर नयाँ स्वचालित प्रणाली सञ्चालनमा ल्यायो । जसले घर घरबाटै सेयर कारोबार गर्न सम्भव तुल्यायो । मोबाइलबाटै सेयर खरिद बिक्री, बैंक खातामार्फत रकम भुक्तानी तथा एसएमएस वा इमेलमा जानकारी आउने व्यवस्था सुरु गरेसँगै मुलुकमा सेयर बजारप्रतिको चासो एकाएक बढ्न पुग्यो ।
सेयर बजारप्रति बढ्दो आकर्षणका कारणः
– प्रविधिको बढ्दो प्रयोगः विगतमा घण्टौं लाइन लागेर कारोबार गर्नुपर्ने सेयर बजारलाई अहिले प्रविधिले डोराएको छ । सेयर कारोबारका लागि आवश्यक सबै पूर्वाधार डिजिटल भएका छन् । जसले गर्दा घर वा अफिसमै बसेर कारोबार गर्न सकिने सुविधा भएको छ । यसले हरेक क्षेत्रका नागरिकलाई सेयर बजारमा तान्न सकेको छ ।
– सेयर बजारको व्यापक चर्चाः प्रविधिको प्रयोग बढ्दै जाँदा सेयर बजारको चर्चाले व्यापकता पाएको छ । सेयर बजारमा लगानी गरे केही समयमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने मान्यतालाई लगानीकर्ता वा विज्ञ भनिएकाहरूले फैलाएका छन् । जसबाट बजारमा सहजै नयाँ लगानीकर्ताको प्रवेश हुँदै गएको छ ।
– साथीहरूको संगतः साथिसंगी, कार्यालय, परिवार, सहकर्मी सबैले सेयर बजारबारे गफ गर्न थालेका छन् । चिया गफमा पनि सेयर बजारकै कुरा आइरहँदा नयाँ लगानीकर्ताहरू आकर्षित भइरहेका छन् ।
– उच्च प्रतिफलको आशाः सेयर बजारले छोटो र दीर्घकालमा उच्च प्रतिफल दिने सम्भावनाले पनि धेरैलाई आकर्षित गरेको छ । विशेषगरी जलविद्युत, बैंकिङ, बीमा लगायतका क्षेत्रका कम्पनीहरूमा उच्च प्रतिफलको सम्भावनाले सहभागिता बढाएको छ ।
– आर्थिक परिवर्तनको सोचः पछिल्लो समय नेपालीहरूले सेयर बजारमा लगानी गरेर छिटो नै आर्थिक अवस्था बदल्ने सोच राख्न थालेका छन् । सोही सोचका कारण सेयर बजारमा आकर्षण बढिरहेको छ ।
– सेयर बजारमा लगानी साक्षरताः नेपालमा सेयर बजारमरा सहभागी हुनेहरूको संख्या बढ्दै गएपनि उनीहरूमा लगानी साक्षरताको स्तर सन्तोषजनक छैन । धेरै लगानीकर्ताहरूले सेयर बजारलाई तत्काल नाफा कमाउने माध्यमको रुपमा मात्रै हेर्ने गरेका छन् । यतिमात्र नभएर सामाजिक सञ्जालमा कसैले कुनै कम्पनीको बारेमा लेखेको भरमा, चिया गफमा कसैले केही कुरा गरेको भरमा लगानी गर्दा उनीहरूले ठूलो रकम घाटा पनि व्यहोर्दै आइरहेका छन् । सेयर बजारको सामान्य जानकारी वा यसमा किन लगानी गर्ने ? कस्तो अवस्थामा लगानी गर्ने भन्नेबारे बुझ्न नसक्दा उनीहरू मानसिक तनावको समस्यामा झेलिन पुगेका छन् । अझै, हल्लाको भरमा सेयर किनबेच गर्दा उनीहरूले ठूलो धनराशी गुमाउनु परेको छ । सेयर बजारको जोखिम र
जटिलताबारे जानकारी कहाँबाट र कसरी लिने भन्नेसम्म पनि कतिपयलाई थाहा नभएको पाइन्छ । अधिकांश लगानीकर्ताहरूले सेयर बजारको आधारभूत ज्ञान, जस्तैः प्राविधिक विश्लेषण, आधारभूत विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, जोखिम मूल्यांकन लगायतका बारे जानकारी नै राखेका छैनन् । धेरैले बजारमा व्याप्त हल्ला,सामाजिक सञ्जालमा सिर्जना भएको माहोल, साथीभाको सिफारिस लगायतका आधारमा लगानी गरिरहेका छन् । अझ, कुनै कम्पनीको मूल्य बढ्दैछ रे भन्ने हल्ला सुनेर उनीहरूले लगानी गरिरहेका छन् ।
लगानी साक्षरताको अभावले लगानीकर्ताहरूलाई भावनात्मक निर्णय गर्न प्रेरित गरिरहेको छ । बजारमा सेयरको मूल्य बढ्दा लोभ र घट्दा डरले उनीहरू गलत समयमा सेयर खरिद बिक्री गरिरहेका छन् । जसले ठूलो आर्थिक नोक्सानी त निम्त्याउँछ नै, मानसिक तनाव पनि सिर्जना हुन्छ । कोरोना महामारीको समयमा धेरै नयाँ लगानीकर्ताले यसैगरी लगानी गरे । बजार ३ हजार २ सय विन्दुसम्म पुग्यो । तर पछि बजार घट्दै जान थाल्यो । धेरै लगानीकर्ताले यसबारे भेउ पाएनन् । उनीहरूको लाखौं, करोडौं रकम डुब्न पुग्यो । जुन अझै रिकभर हुन सकेको छैन । सेयर बजारमा लगानी केकसरी गर्ने भनेर जान्न वा बुझ्नका लागि एकदमै सीमित स्रोतहरू छन् । सामाजिक सञ्जाल, युट्युब लगायतमा दिइएका साक्षरताहरू एकदमै सतही छन् । उनीहरूले सेयर बजारका सामान्य कुराहरूमात्रै दिइरहेका हुन्छन् । समस्या यो छ किः साक्षरता दिनेसँग पनि सीमित मात्रै ज्ञान छ । जसले सबैलाई सेयर बजारमा रुमल्याउन बाध्य पारिरहेको छ ।
साक्षरताको आवश्यकता
सेयर बजारप्रति देखिएको बढ्दो आकर्षण र सहभागितालाई मजबुत बनाउनका लागि सेयर लगानी साक्षरताको उत्तिकै महत्व हुन्छ । सेयर बजार भनेको के हो ? यसको उद्देश्य के हो ? यसमा किन लगानी गर्ने ? कति लगानी गर्ने ? कस्तो अवस्थामा लगानी गर्ने ? प्रतिफल कसरी प्राप्त गर्ने ? कम्पनीहरुमा लगानी गर्ने निर्णय कसरी गर्नेलगायतका विषयहरूमा साक्षरता एकदमै आवश्यक छ । अहिले धेरैको बुझाइ सेयर बजारमा लगानी गरेमा सहजै कमाउन सकिन्छ भन्नेमै सीमित छ । सेयर बजार के हो ? किन यसमा लगानी गर्ने ? यसमा लगानी गर्दा केकस्ता जोखिम वहन गर्नुपर्छ ? जोखिम कसरी लिने वा हस्तान्तरण गर्ने लगायतका मुख्य प्रश्नहरूको सामान्य जवाफसम्म पनि कतिपय लगानीकर्ताहरूमा रहेको पाइँदैन । धेरैजसोले सामाजिक सञ्जालमा कसैले लेखेको स्ट्याटसको आधारमा लगानी गर्ने, उनीहरूको टिप्सअनुसार सेयर किनबेच गर्ने, कसैले भनेको भरमै आँखा चिम्लििएर लगानी गर्ने प्रवृत्ति छ । यस्तो अवस्था अल्पकालीन रुपमा लाभदायक लागेपनि दीर्घकालीन रुपमा घातक हुन सक्नेतर्फ धेरैको ध्यान गएको देखिँदैन । सेयर बजार केवल किनबेचको मात्र खेल होइन । यो जोखिमको बजार हो । जहाँ जानकारी र रणनीति बिना टिक्न गाह्रो हुन्छ । वित्तीय तथा लगानी साक्षरताको अभावले धेरै लगानीकर्ता बजारको सानो उताररचढावमै मानसिक तनावमा पर्ने, हतोत्साहित हुने वा घाटा बेहोरिरहेका छन् । मूल्यांकन नगरी कम्पनीमा लगानी गर्नु, डिभिडेन्ड वा बोनसकै आधारमा निर्णय गर्नु वा सस्तोमा किन्ने र महँगोमा बेच्ने भन्ने साधारण धारणा मात्रै राखेर अगाडि बढ्नु उपयुक्त हुँदैन । अझ अफवाहमा विश्वास गरेर हतारमा लगानी गर्ने, फुर्सदमा पछुताउनेहरूको संख्या बाक्लै छ । अध्ययनहरूले करीब ७० प्रतिशत नयाँ लगानीकर्ताले कम्पनीको मूल्यांकन नगरी लगानी गर्ने गरेको, त्यो भन्दा बढीले फण्डामेन्टल एनालाइसिस गर्न नजानेको देखाएको थियो । यसले नेपालको सेयर मार्केटले फड्को मार्न खोजिरहेपनि साक्षरताको अभावमा रुमल्लिरहेको देखाउँछ । विशेष गरी युवा पुस्ता र मध्यम वर्गीय परिवारहरूले सेयर बजारलाई आफ्नो सम्पत्ति वृद्धिको एक आकर्षक माध्यमको रुपमा सेयर बजारलाई हेर्न थालेका छन् । सेयर बजारमा आकर्षण बढ्दै जाँदा यसका चुनौती पनि बढ्दो छ भने अवसर पनि प्रशस्त छ । अहिले चुनौती र अवसरलाई मिहिन ढंगले केलाएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ । अहिले साक्षरता हुँदै नभएका होइनन् । मिडिया, सरोकारवालाहरू, धितोपत्र बोर्ड लगायत धेरै क्षेत्रले सेयर बजारमा लगानी सम्बन्धी साक्षरता प्रदान गर्दै आएको छ । तर विविध चुनौतीका कारण ती र त्यस्ता साक्षरताका कार्यक्रमहरू प्रभावकारी हुन सकिरहेका छैनन् । जसकारण नागरिकहरू हल्लाको भरमा सेयर बजारमा लगानी गर्ने गरेका छन् । हतारमा लगानी गरेर फुर्सदमा पछुताउने बाहेक धेरै लगानीकर्ताले यसबारे भेउ नै पाउन नसेको पाइन्छ । सोही कारण नै एक व्यक्तिले कुनै सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखिदियो भने सोही अनुसार किन्ने र बेच्नेको भिड लाग्छ ।
सेयर कारोबारका लागि साक्षरताका चुनौती
पछिल्लो समय सूचना प्रविधिमा मुलुकले फड्को मारिसकेको छ । यस्तो अवस्थामा विभिन्न सूचनाहरू छिटो फैलन्छन् । अहिले सेयर बजारमा पनि सही सूचना भन्दा गलत सूचना छिटो फैलिरहेको देखिन्छ । यसको मूल कारण भनेको कस्तो सूचना दिने वा कस्तो नदिने ? भन्नेबारे अनविज्ञ हुनु, कुनै गलत मनसायले गलत सूचना प्रवाह गर्नु, नजानेरै वा नबुझेरै सेयर गर्नु आदि पर्दछन् । यस्तो अवस्थामा लगानीकर्ता मात्र नभई अन्य सरोकारवाला निकाय, नेप्से, धितोपत्र बोर्ड पनि गलत सूचनाको जालोमा फस्न सक्छन् । नेपालमा विभिन्न किसिमका चुनौतीहरू समय समयमा सेयर बजारका लगानीकर्ताहरूले भोग्दै आउनुपरेको छ । नयाँ पुस्ताले सेयर बजारलाई बुझ्न तर्फ नलागने र सामान्य बुझाइबाट कारोबार गर्न अग्रसर हुने जुन परिस्थिति छ,पनि सेयर बजारको विकासलाई कहीँ न कहीँ रोकेको अवस्था छ । नेपालमा सेयर लगानीकर्ताका लागि साक्षरता चुनौतीहरूलाई बुँदागत रुपमा दिइएको छ ।
विज्ञको अभावः सेयर शिक्षाका लागि सबैभन्दा पहिले विज्ञको अभाव मुख्य चुनौतीको रुपमा खडा भएको छ । सेयर बारे जान्ने र आधिकारिक विज्ञ को हुन् भन्ने सामान्य जानकारी पनि लगानीकर्ताले पाउन सकेका छैनन् । पछिल्लो समय जो कोहीले पनि आफूलाई विज्ञका रुपमा प्रस्तुत गरिरहेका छन् । फेसबूक लगायतका सामाजिक सञ्जालमा जसको धेरै फलोअर्स छ, उसैको कुरा सुन्ने प्रवृत्ति छ । तर उनीहरूले सही सूचना नदिँदा धेरै लगानीकर्ता प्रभावित भएका छन् । यसलाई रोक्नका लागि र लगानी जोखिमलाई न्यूनीकरणका लागि विज्ञहरूको रोष्टर बनाउने र त्यसलाई आधिकारिकता दिनेतर्फ राज्यले सोच्नुपर्छ । केही विज्ञहरूले रोष्टर बनाएरै विज्ञ पहिचान गर्ने र उनीहरूबाट सूचना प्रवाह गराउनुपर्नेमा जोड दिँदै आएका छन् । यदि यस्तो गरिएमा सूचना दिने व्यक्ति पनि जिम्मेवार भएर सूचना दिन सक्छ ।
आधारभुत ज्ञानको अभावः सेयर बजारको आधारभूत ज्ञानको अभाव अधिकांश नेपाली लगानीकर्ताहरूमा छ भन्दा तितो सुनिन्छ । तर यो सही हो । धेरै लगानीकर्ताले प्राविधिक विश्लेषण, आधारभूत विश्लेषण, जोखिम मूल्यांकन जस्ता आधारभूत ज्ञान पनि राख्न वा पाउन सकेका छैनन् । जुन चुनौतीको विषय हो । सेयर बजारको जटिलता र दीर्घकालीन प्रभावबारे बुझाइको अभावले लगानीकर्तालाई नोक्सानीको जोखिममा पार्छ । यसलाई न्यूनीकरण गर्न र लगानी बढाउनका लागि अहिले नै आवश्यकता रहेको छ ।
सीमित स्रोत साधनः नेपालमा सेयर बजार र लगानी साक्षरता सम्बन्धी गुणस्तरीय र व्यापक शैक्षिक स्रोतहरूको अभाव छ । सामाजिक सञ्जाल, केही विज्ञ लगायतले दिने सूचना वा जानकारीहरू सतही, गलत वा अपूर्ण हुन सक्छन् । यसलाई नियन्त्रण गर्नका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले विशेष काम गर्नु आजको आवश्यकता हो ।
डिजिटल साक्षरताः पछिल्लो समय सेयर बजारमा डिजिटल साक्षरता पनि प्रमुख चुनौतीको रुपमा आएको छ । लगानीकर्ता प्रविधिमैत्री हुन नजान्दा त्यसबाट असर परिरहेको छ । कस्ता सूचना लिने, कस्ता नलिने ? भन्नेदेखि सेयर कारोबार गर्नेसम्मको साक्षरता दिनु अहिले आवश्यक छ । यसबाहेक प्राविधिक विश्लेषण गर्ने
तरिका, बुझाइ लगायतबारे पनि लगानीकर्ता अनविज्ञ छन् । उनीहरूले सेयर बढेको बेलामा बेच्ने वा किन्ने ? कस्तो कम्पनी किन्नेभन्नेबारे सम्म पनि सामान्य जानकारी पनि नलिएको धेरै गाउँमा पाइन्छ ।
बजार अस्थिरताः सेयर बजारमा तीव्र उतारचण्ढाव हुने हुँदा लगानीकर्तामा यसले डर र अनिश्चितता पैदा गर्छ । यसपछि कारोबारबारे सही निर्णय लिन नसक्दा लाखौं घाटा पर्न जान्छ । यस्तो अवस्थामा राज्यले आर्थिक स्थायित्व, पारदर्शी नीति तथा सेयर बजार अनुकुल वातावरण लागू गराउनतर्फ ध्यान दिनुपर्छ । नेपाल जस्तो मुलुकमा ससाना घटनाक्रमले पनि बजारलाई प्रभाव पारिरहेको हुन्छ । कुनै नेताको भाषणले सेयर बजारलाई प्रभाव पारिरहेको हुन्छ । साथै छिटो छिटो राजनीतिक परिस्थिति परिवर्तन भइरहेको अवस्थामा त्यसले सेयर बजारलाई पनि अस्थिर दिशामा धँकेलिरहेको हुन्छ । यसबारे जानकारी नलिइ सेयर बजारमा लगानी गर्दा लगानीकर्तालाई हानी हुने मात्र हैन डुब्ने नै जोखिम रहन्छ । त्यसकारण बजार अस्थिरता पनि मुख्य चुनौतीको रुपमा निुपर्ने देखिन्छ ।
सेयर लगानीकर्ता शिक्षाामा कसरी जोड दिने ?
लगानीकर्ताहरूलाई बजार विश्लेषण, कम्पनीको वित्तीय अवस्था मूल्यांकन र विश्लेषण लगायतबारे निरन्तर तालिम र प्रशिक्षण आवश्यक पर्छ । सरकारदेखि लगानीकर्तासम्मका एजेन्सीहरूले यसका लागि आवश्यक पहलकदमी लिन सक्नुपर्छ । सेयर बजार शिक्षा भौतिक रुपमा साताको एक दिन मात्रै सरोकारवाला समूहलाई बुझाउन सकिएमा पनि सेयर लगानीलाई ब्यापक बनाउन सकिन्छ । कस्तो तालिम कुन समूहलाई आवश्यक छ भन्नेबारे अध्ययन गर्ने, विश्लेषण गर्ने, तालिम पछि फेरि लगानीका लागि जोखिम व्यवस्थापन गर्न सिकाउने जस्ता गतिविधिमा सरोकावावाला निकाय लाग्नु जरुरी देखिन्छ ।
– वित्तीय साक्षरता अभियानः सेयर बजारबारे जनचेतना फैलाउनका लागि विद्यालय स्तरदेखि नै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । लगानीकर्तालाई जोखिम व्यवस्थापन र दीर्घकालीन लगानी रणनीतिबारे प्रशिक्षण दिनुपर्छ । पछिल्ला वर्षहरूमा वित्तीय साक्षरताका लागि केही अभियानहरू भएका छन् । तर बजारमा नवप्रवेशी लगानीकर्ताको वृद्धिको तुलनामा त्यस्ता कार्यक्रमहरू न्यून वा प्रभावहिन देखिन्छन् । यस्तो अवस्थालाई चिर्दै अगाडि बढ्नका लागि नियामक निकायले पनि बाटो खुला गर्न सक्नुपर्छ । कस्ता किसिमका तालिम आवश्यक छ, को को स्रोत व्यक्ति वा विज्ञले प्रशिक्षण दिने, कति जनालाई र कति पटक तालिम दिने भन्ने कुराले पनि यसलाई निर्धारण गर्छ । वित्तीय साक्षरतामार्फत सेयर बजारमा नयाँ आकर्षण पैदा गर्न सकिएमा मात्रै त्यसले सार्थकता पाउने देखिन्छ ।
– डिजिटल स्रोत र प्रविधिको उपयोगः सेयर शिक्षालाई व्यापक बनाउनका लागि अनलाइन कोर्स तथा वेबिनारको प्रयोग गर्ने, मोबाइल एप र प्लेटफर्मबाट सेयर बजारको आधारभूत जानकारी, बजार विश्लेषण र साक्षरता सम्बन्धी सामाग्री प्रदान गर्ने लगायतका गतिविधि गर्न सक्नुपर्छ । सेयर साक्षरताका लागि धितोपत्र बोर्ड लगायतले बढी मात्रामा तालिम र प्रशिक्षण गराउनुपर्छ । साक्षरता भनेको केवल सूचना हुनु मात्र होइन, अनुशासन र दीर्घकालीन सोच पनि हो । यसबारे बजारमा सफल लगानीकर्ताहरूले दीर्घकालीन सोच, कम्पनीको मूल्यांकन, समय अनुकूलता, पोर्टफोलियो व्यवस्थापन र धैर्य राख्नका लागि लगानीकर्तामा सचेतना जाग्न र जगाउन जरुरी हुन्छ ।
अन्त्यमा, सेयर साक्षरतासम्बन्धी चुनौतीहरूलाई समाधान गर्न व्यापक जनचेतना फैलाउन बहुआयामिक र समावेशी दृष्टिकोण आवश्यक देखिन्छ । शैक्षिक अभियान, डिजिटल स्रोत, नियामक सुधार, र स्थानीय सन्दर्भमा आधारित कार्यक्रमहरूले सेयर बजारको जोखिम र अवसरबारे सर्वसाधारणलाई सचेत बनाउन सक्छ । सरकार, नियामक निकाय, निजी क्षेत्र, र सामुदायिक संगठनहरूको सहकार्यले मात्र सेयर साक्षरतालाई व्यापक र प्रभावकारी बनाउन सकिन्छ । यस्ता प्रयासहरूले लगानीकर्ताहरूलाई सूचित र सशक्त बनाउँदै सेयर बजारलाई समावेशी, स्थिर, र समृद्ध बनाउन योगदान पुर्याउनेछ ।
(नेपाल धितोपत्र बोर्डको ३३ औं बार्षिकोत्सवको ले विशेषाङ्कबाट)