

आईपीओ जारी गर्दै ट्रेड टावर, अब सर्वसाधारणले पनि भर्न मिल्ने




काठमाडौं । ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निश्कासन गर्ने जनाएको छ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४।६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निश्काशन गरी बाँडफाँड गरिसकेको अवस्थामा अब भने सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको हो ।
यता, कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निश्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५।१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ।
सोही आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उक्त आइपीओमा छिटोमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा जेठ २८ गतेसम्म आवेदन दिन मिल्ने प्रावधान गरेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड तोकिएको छ भने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन मिल्नेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाइएको हो।