

‘मधेश टु महाभारत’ यात्रा : उल्टो मोटरसाइकलमा अनौठो सांस्कृतिक अभियान




बर्दिवास, महोत्तरी । (कला र संस्कृतिको संरक्षण तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा सुरु गरिएको ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ ।
जेठ ९ गते बर्दिवासबाट सुरु भएको यो अनौठो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेको हो । “मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक” भन्ने नाराका साथ पोखरेल नेतृत्वको २५ सदस्यीय टोलीले यात्रा अवधिभर विविध सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागिता जनाएको थियो ।
कार्यक्रमका संयोजक सुबोध कट्टेलका अनुसार यो अभियानको मुख्य उद्देश्य मौलिक कला र संस्कृतिको संरक्षण गर्नुका साथै पर्यटन र स्वास्थ्यबीचको सम्बन्धलाई प्रोत्साहन गर्नु रहेको छ । “संस्कृति, स्वास्थ्य र पर्यटनलाई जोड्दै समाजमा सकारात्मक सन्देश फैलाउनु हाम्रो लक्ष्य हो,” उनले बताए ।
यात्राको प्रमुख आकर्षण उल्टो मोटरसाइकलमा यात्रा गर्ने पोखरेल विगतदेखि नै यस्ता अनौठा यात्रामा सक्रिय रहँदै आएका छन् । वि।सं। २०६३ सालमा उनले शान्तिको सन्देश बोकेर मेचीदेखि महाकालीसम्म उल्टो साइकल यात्रा गरेका थिए । पछिल्ला केही वर्षदेखि उनी उल्टो मोटरसाइकल कुदाउने अभ्यासमा लागिपरेका छन् ।
पेशाले स्वास्थ्यकर्मीसमेत रहेका पोखरेल एक गायकको रूपमा पनि चिनिन्छन् । उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् । हाल उनी यस किसिमको विशिष्ट यात्रामार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारीमा छन् ।
उक्त अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो भने वडा नं। १ र ३ को सहकार्य र गौरीवास युथ क्लबको सक्रिय सहभागिता उल्लेखनीय रह्यो ।