

एक हप्तामा नेप्से परिसूचक २.९४ प्रतिशतले बढ्यो




काठमाडौं । एक सातामा नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक उचालिएको देखिन्छ। त्यस्तो परिसूचक गत साताको तुलनामा २.९४ प्रतिशतले बढेर बन्द भएको देखिएको हो ।
यता, गत साता २६११ दशमलव ८५ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २।९४ प्रतिशत अर्थात ७६ दशमलव ७० अंक बढेर २६८८ दशमलव ५५ विन्दुमा पुगेको छ । यो साता ५ कारोबार दिनका लागि खुलेको बजार ३ दिन बढेर कारोबार भएको थियो भने २ दिन परिसूचक घटेको थियो । त्यस्तै यो साता सेन्सेटिभ इण्डेक्स पनि १७ दशमलव ९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६ दशमलव ७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६ दशमलव ६२ अंक बढेको देखिन्छ ।
त्यस्तै, नेप्से बढेपनि यो साता कारोबार रकम भने गिरावट आएको छ । गत साता दैनिक औषतमा ८ अर्ब ९१ करोडको सेयर कारोबार भएको बजारमा यो साता दैनिक औषतमा ८ अर्ब ७४ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम १।९५ प्रतिशत घटेको अवस्था छ।
साथै, गत साता दैनिक औषत सेयर संख्या ६।६३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १६।५३ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण भने करिब ३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १ खर्ब २९ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । यो साता १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यो साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ७.१८ प्रतिशत बढेको छ । गत साता १३०१ दशमलव ८२ विन्दुमा बन्द भएको यो उपसमूहको परिसूचक, यो साता ९३ दशमलव ४२ अंक बढेर १३९५ दशमलव २४ विन्दुमा पुगेको छ । त्यस्तै, यस साता अन्य र लघुवित्त उपसमूहको परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढको छ ।
नेप्सेलाई नियाल्दा अंकका आधारमा यो साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको देखिन्छ । गत साता १२ हजार ३२६ दशमलव ४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता २४१ दशमलव ८ अंक बढेर १२ हजार ५६८ दशमलव ३९ विन्दुमा पुगेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक १.९७ प्रतिशत घटेको छ । गत साता ४३८९ दशमलव ३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यो साता ८६ दशमलव ४९ अंक घटेर ४३०२ दशमलव ८६ विन्दुमा झरेको हो।