

सेबोनले ६ हाइड्रोसहित यी १४ कम्पनीलाई हटायो पाइपलाइनबाट




काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर आईपीओ पाइपलाइनमा रहेका १४ कम्पनीलाई आईपीओको सूचीबाट नै हटाएको छ ।
सार्वजनिक लेखासमितिले २०८० पुस १३ गते प्रति सेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिनु भनेर बोर्डलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बोर्डले ९० भन्दा कम नेटवर्थ भएका तथा अन्य केही कम्पनीलाई सूचीबाट हटाएको छ ।
उर्जा प्रवर्धकहरुले सेबोनले २३ महिनादेखी आईपीओ रोकेर कार्यालयमा बिचौलीया पठाएर ५ र ७ प्रतिशत कमशिन मागेको भनेर आरोप लगाएका छन् ।
यही बिचमा बोर्डले भने केही जलविद्युत कम्पनीसहित १४ वटा कम्पनीलाई आईपीओको सूचीबाट हटाएको छ । बोर्डले सानिमा हाइड्रोपावर, रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडल कम्पनी, पुवा खोला–वन हाइड्रोपावर लिमिटेडलाई आईपीओको सूचीबाट हटाएको छ ।
यस्तै एपेक्स होस्पिटालिटी लिमिटेड, अर्चिड होल्डिङ्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, एक्कर्ड फर्मास्युटिकल्स, सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकोप्टर कम्पनीलाई सूचीबाट हटाएको छ ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले अहिले पाइपलाइबाट हटाएका कम्पनीहरुले प्रतिसेयर नेटवर्थ ९० पुर्याएर फेरि निवेदन दिन सक्ने बताए ।