

लड्केश्वर धाममा राष्ट्रव्यापी आस्था संकल्प : विश्वकै एकमात्र कालाग्निरुद्र पीठ




काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ मा अवस्थित लड्केश्वर धामलाई विश्वकै एकमात्र कालाग्निरुद्र पीठका रूपमा मान्न थालिएको छ । सूर्य पुराणको ५७औँ अध्यायको १७औँ श्लोकमा उल्लेख गरिएको यो पवित्र स्थलमा हालैको वर्षमा धार्मिक जागरणको अद्वितीय उदाहरण प्रस्तुत गरिएको हो।
लड्केश्वर महादेव क्षेत्रमा निर्माण गरिएको विश्वकै अग्लो १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिव धारा यस क्षेत्रको विशेष आकर्षण बनेका छन् । झन्डै २० वर्षसम्म अलपत्र अवस्थामा रहेको त्रिशूलको पुनःनिर्माण गर्दै २०८० सालमा नेपालमै पहिलो पटक जनस्तरबाट राष्ट्रिय कोटिहोम भव्यताका साथ सम्पन्न गरिएको थियो ।
राष्ट्रिय कोटिहोममा ७७ वटै जिल्लाबाट भक्तजनहरूको सहभागिता रह्यो । विशेषगरी राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाह सपत्नीक समेत पूजामा सहभागी भएका थिए, जसले कार्यक्रमको महत्त्व थप बढायो ।
नेपालमा शास्त्रीय मान्यताका आधारमा भएका धार्मिक अनुष्ठानहरु मध्ये ईतिहास रच्न सफल उक्त राष्ट्रिय कोटिहोमका संकल्पकर्ता हुन् – श्री मुकुन्द शर्मा हुमागाईं, जो पत्रकारिता क्षेत्रबाट उदाएका व्यक्तित्व हुन् । उहाँकै अगुवाइमा ७७ वटै जिल्लामा रथयात्रा गर्दै कोटिहोमको तयारी गरिएको थियो र भब्य रुपमा सम्पन्न भएको थियो । कोटिहोम सम्पन्नपश्चात प्रा. डा. माधव भट्टराईको नेतृत्वमा राष्ट्रिय धर्म सभा नेपालले उनलाई विश्वकै एकमात्र कालाग्निरुद्र पीठ लड्केश्वर धामको पीठाधीश पदवीद्वारा सम्मानित गरेको थियो ।
धार्मिक मान्यताअनुसार, कालाग्निरुद्र पीठ लड्केश्वर महादेव नै सम्पूर्ण सृष्टिमा अद्वितीय छन् । ठुलो महत्व बोकेर पनि ओझेलमा रहनुभएका लड्केश्वर धामलाई प्रचार गरि विश्वमै चिनाउन विश्वकै ठूलो त्रिशुल, शिवधारा सहित आधिकारिक रुपमा राष्ट्रिय कोटिहोम सारा राष्ट्रलाई जोडेर सम्पन्न गरिसकेपछी मुकुन्द शर्मा हुमागाईं कालाग्निरुद्रको रुपमा चिनाउनुभएको र पीठाचार्य अरुणकुमार पाण्डेका अनुसार, यस धारणाको प्रमाण सूर्य पुराणमै उल्लेखित भएको बताउनुहुन्छ ।
२०८० को कोटिहोम पश्चात अहिले देशभर लक्ष हवन सहित कोटिहोमको प्रसाद वितरण भैरहेको छ । आगामी २०८३ सालको माघ शुक्लपक्षमा दोस्रो राष्ट्रिय कोटिहोम आयोजना गर्ने तयारी पनि तीव्र गतिमा अघि बढिरहेको छ । २०८२ बैशाख पहिलो हप्तासम्म ६ वटा लक्षहवन सम्पन्न भैसकेको छ ।
लड्केश्वर धाममा हरेक वर्ष हरिवोधनी एकादशीका दिन भव्य मेला लाग्ने परम्परा छ । साथै, उत्तरायणको गंगा दशहरा र दक्षिणायनको धान्यपूर्णिमामा साधनापरक विशेष मेलासमेत गरिन्छ, जसले यो पवित्रस्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनाएको छ ।
२०८२ सालको गंगा दशहरा मेला जेष्ठ १४ गते देखि शुभारम्भ हुँदैछ । कालाग्निरुद्र पीठका रुपमा लड्केश्वर धामले पीठको पीठाधीश प्रस्ताव गरेको वर्षदिन पूरा हुँदै छ । त्यस अवसरमा दशहरा मेला परेको कारण देशैभरका विद्वान एवं नेपाल सरकारको ध्यान जावस् जनस्तरबाट सल्लाह र सुझाव पाँउ भनी पीठाधीश शर्माले अपेक्षा सहित धर्मानुरागीहरुलाई निमन्त्रणा समेत गरेका छन् ।