

चीन–अमेरिकाबीचको व्यापारमा युद्धबिराम,अधिकांश भन्सार शुल्क अस्थायी रूपमा घट्यो




एजेन्सी । व्यापार तनावबाट दुवै मुलुकको अर्थतन्त्रमा चाप बढेपछि अमेरिका र चीनले तीव्र रूपमा तनाव न्यूनीकरणको कदम चालेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा भएको साप्ताहिक वार्तापछि दुवै देशले एकअर्काका सामानहरूमा लगाइएको अधिकांश भन्सार शुल्क अस्थायी रूपमा घटाएका छन् ।अमेरिकाले चीनबाट आयात हुने अधिकांश सामानमा लगाइएको १४५ प्रतिशत भन्सार शुल्क घटाएर आगामी ९० दिनका लागि ३० प्रतिशतमा ल्याउने जनाएको छ । उता चीनले अमेरिकाबाट आयात हुने वस्तुहरूमा लगाएको १२५ प्रतिशत शुल्क घटाएर १० प्रतिशतमा झार्ने बताएको छ । उक्त जानकारी चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको हो ।
“हामी दुई पक्षले छुट्टिने होइन, सहकार्यमै रहन चाहन्छौं भन्ने सहमति भएको छ,” अमेरिकी अर्थमन्त्री स्कट बेसन्टलाई जेनेभामा उद्धृत गरिएको छ । व्यापार तनाव न्यून हुँदा विश्व बजारमा सकारात्मक असर देखिएको छ ।
प्रविधिसम्बन्धी कम्पनीहरूका सेयरमा उल्लेख्य वृद्धि भएको छ । चिनियाँ ई–कमर्स कम्पनी अलीबाबाको हङकङ सूचीबद्ध सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । त्यस्तै टेन्सेन्टको सेयर मूल्य झण्डै ५ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी निर्माता कम्पनी एक्सपेंगको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले उचालिएको छ ।
“जेनेभा वार्ताको परिणामले अधिकांशको अपेक्षा भन्दा बढी सकारात्मक संकेत दिएको छ,” शाङ्हाईस्थित हुतोङ रिसर्चका साझेदार गुओ शानले वीच्याटमार्फत प्रतिक्रिया दिइन् । उनका अनुसार व्यापार युद्धले दुवै देशको अर्थतन्त्रमा क्षति पु¥याएपछि अमेरिकाले पछि हट्न बाध्य भएको देखिन्छ ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन बजारमा देखिएको अस्थिरता र वाल स्ट्रिटको दबाबका कारण आलोचित बन्दै आएको छ । थुप्रै अमेरिकी ठूला कम्पनीहरूले चीनबाट सामान खरिद गर्दा अनिश्चित भन्सार शुल्कका कारण अर्डर रोकिएको भन्दै चाडै स्टोरहरू खाली हुने चेतावनी दिइरहेका छन् ।
चीनका लागि पनि व्यापार युद्ध फाइदाजनक छैन । चिनियाँ लगानी बैंक ‘चान्सन एन्ड कम्पनी’ का निर्देशक शेन मेंगका अनुसार अमेरिका सँगको व्यापार तनावले करिब १ करोड ५८ लाख रोजगारी गुम्न सक्ने खतरा छ । त्यस्तै यसले सरकारले तय गरेको चालू वर्षको करिब ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि असफल बनाउने निश्चितजस्तै छ ।