

‘धुप बाल्नु जस्तै हो बीमा गर्नु–बहुजन हिताय’:हिमालयन लाइफका सीईओ कर्ण




काठमाडौं । नेपाली बीमा क्षेत्रमा ठूला बीमा कम्पनीहरु गाभिएर (बिज मर्जर) बाट स्थापित कम्पनी हो,‘हिमालयन लाइफ’ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले बीमा दर्पण डटकमलाई बीमाका आधारभूत (बेसिक) कुरा तथा यसको अपरिहर्यताका बारेमा नागरिकहरुलाई प्रस्ष्ट पार्ने किसिमले कलम चलाउनु पर्ने शुभकामना दिएका छन् ।
बीमा दर्पण डटकमसँगको प्रत्यक्ष भेटमा शुभकामना दिँदै हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ कर्णले भने,‘बीमालाई हामीले बेसिक निडमा राख्नु पर्छ , मैले बारम्बार यही कुरा भन्ने गरेको छु । व्यक्तीलाई वर्तमान समयमा गाँस, बास, कपास जस्तै बीमा पनि अनिवार्य आवश्यकता बनिसकेको छ । यो कुरा तपाईहरुले पनि हरेक व्यक्ती व्यक्तीलाई बुझाउँनु पर्छ । तपाईहरुले पत्रिकामा पनि सामान्य भाषामा सबैले बुझ्ने गरी यही कुरा लेख्नु होला । बीमा भनेको हरेका व्यक्तीलाई चाहिन्छ, चाहे त्यो धनी होस् वा गरिब । हरेक वर्गलाई आफ्नो घरको आर्थिक सुरक्षा आवश्यक हुन्छ र त्यस्तो पैसा बीमाले मात्र दिन्छ ।’
सीईओ कर्णले दुई दाजुभाईको मर्दा पर्दाको उदाहरण दिँदै थपे,‘दुई जना दाजु भाईमा एकजनाले आफ्नो मृत्यु हुँदा मेरो परिवारलाई आफ्नो तलब बराबरको ४०, ५० हजार रकम घर खर्च बराबर दिनु भन्यो भने त्यो मौखिक रुपमा मात्रै सिमित हुन्छ । आज दिन्छु भन्छन् । तर, बोलिले दिन्छु भने पनि पैसा जोडिएको ठाउँमा मान्छेको व्यवहार भने निकै फरक हुन्छ । अधिकांश अवस्थामा चाहेर पनि भाईको घर उसको दाईले हेर्न सक्दैन । त्यस्तो विपद्मा विश्वमा काम लाग्ने भनेको बीमा मात्रै हो । बीमाबाट धेरै पैसा आउँदा त्यसलाई फेरी बचतका लागि बैंकको मुद्धती निक्षेप (एफडी) मा राख्ने कुराहरु पनि छन् । विश्वमा सबैभन्दा दुःखमा साथ दिने भएकाले बीमालाई अब (बेसिक निड) आधारभूत आवश्यकतामा राख्न जरुरी भएको छ ।’
उनले गाँस, बास, कपास व्यक्तीका लागि जरुरी भए पनि त्यसको सुरक्षाका लागि पनि बीमाले सघाउने बताए । आफ्नो कमाई भएको बेलामा आफ्नो परिवारको सुरक्षाका लागि, अल्पायुमा हुनसक्ने निधनका लागि र बुढेसकालको साहाराको लागि बीमा गराउँनु पर्ने हुन्छ । ५८ वर्षमा अवकाश पाएका व्यक्ती पनि ८५ वर्षसम्म बाँच्नु हुन्छ । त्यस्तो बेलामा कुनै जागिर नभएको बेलामा पनि बीमाले सघाउँछ ।’
पैसा बिनाको बुढेसकाल साह्रै दिक्दार लाग्दो हुने भन्दै सीईओ कर्णले समाजमा कुनै व्यक्तीको (भ्यालु क्रियट) प्रतिष्ठा कायम गर्न पनि बीमा आवश्यक रहेको बताएका छन् । उनले विभिन्न किसिमका बीमा व्यक्तीलाई आवश्यक हुने भएकाले कसैको तीन, चार वटा घर भए पनि त्यसको बीमा गर्न आवश्यक हुने बताए । चारवटा प्लट रहेका व्यक्तीले चारवटैमा उब्जिनी गरेजस्तै चारवटा घर पनि कसैले जीवनको ठूलो साहाराका लागि किन्ने गरेको बताए । उनले व्यक्तीको जीवनलाई सफल बनाउँनका लागि पनि उनीहरुले विभिन्न प्राकृतिक विपत्तीबाट जोगिनु पर्ने बताएका छन् ।
कुन ठाउँमा कतिको जोखिम छ भन्ने कुरा मौखिक रुपमा भन्न नसकिने भएकाले पनि बीमाको बारेमा सबैले बुझ्न जरुरी रहेको बताए । उनले आफ्नो घर, सम्पत्ती, जीवनको बीमा आफैले गर्नु पर्ने बताए । विदेशी मुलुकमा बीमा बिना मेडिकल उपचार नहुने चलनदेखि बीमा गर्दा व्यक्तीले छुट्टै आत्मविश्वास प्राप्त गर्नेसम्मका संस्कारहरु सुनाएका छन् ।
अरुको लागि भन्दा आफ्नै लागि हो बीमा
सीईओ कर्णले भने,‘बीमा गर्दा अभिकर्ता वा कम्पनीका लागि बीमा गरेको हो भन्ने चलन हाम्रो अझै पनि व्याप्त छ । हो, तपाईहरुले यस्तो कुरा लेख्नु पर्छ, नागरिकहरुलाई के कुरामा स्पष्ट बनाउँनुपर्छ भने बीमा भनेको जसको बीमा गरेको छ मुख्य त यसको लागि नै हो । बीमा गरेको व्यक्तीको घरमा मृत्यु हुँदा उहाँहरुलाई नै लाभ मिल्ने हो । २० वर्षको बीमा गर्नु भएको व्यक्तीलाई केही भएमा वा पाँच हजार रुपैयाँको बीमाशुल्क (प्रिमियम) तिरेको व्यक्तीलाई केही भएमा लाखौ रुपैयाँ बीमाले तिर्ने गर्छ । अब यसलाई कसरी हेर्ने हो भने तपाईहरुले आफ्नो शरिरमा अत्तर छर्किनुस् वा घरमा अगरबत्ती बाल्नु होस् । त्यो तपाईले आफ्नो लागि बाल्नु भएको हो नि तर त्यसले छिमेकीलाई पनि बास्ना दियो भने तपाईलाई पनि कुनै हानी नोक्सानी हुँदैन । बीमा पनि त्यस्तै हो । तपाईले बीमा गर्नु भयो ठूलो लाभ पनि पाउँनु हुन्छ । अब दुई चार पैसा अभिकर्ताले पाउँछ भने त्यसमा अभिकर्ता वा कम्पनीले आफ्नो लागि बीमा गरे भन्ने हुँदैन । हुन त यो बुझाईमा धेरै परिवर्तन समेत आएको अवस्था छ ।’
उनले अभिकर्ताहरु बीमा गराउने सहयोगी हुन्, सुरक्षा गर्ने हुन् भन्दै आफ्नो जोखिम र परिवारको आर्थिक जोखिमलाई हेर्नु पर्ने बताए । सीईओ कर्णले पैसा भन्ने कुरा व्यक्तीको जीवन रहदा आफूलाई र आफू नरहदा आफ्नो परिवारलाई अलपत्र हुनबाट जोगाउन आवश्यक हुने बताए । त्यस्तो दुवै बाच्दा र मरेको अवस्थामा बीमाले सघाउँने बताएका छन् ।
बीमाले आत्मविश्वास जगाउने भन्दै बीमा गरेका व्यक्तीले ढुक्कसँग सवारी साधन चलान सक्ने उदाहरण दिँए । उनले कतिपय अवस्थामा कुलतमा लागेर पैसा खर्च गर्नु भन्दा पनि बीमामा बचत गरेमा त्यसको महत्व छुट्टै हुने पक्ष पनि उजागर गरेका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ कर्णले बीमाले व्यक्तीलाई, समाजलाई, राष्ट्रलाई नै आर्थिक रुपमा मजबुत पार्ने भएकाले यसको महत्व निकै ठूलो रहेको र यो कुरा सबैले बुझ्न जरुरी रहेको बताए । उनले शैक्षिक र जनचेतनामूलक सन्देश फैलाउँन समेत आगामी दिनमा मिडीयाहरुको भूमिका रहनुपर्छ भन्ने आफ्नो अपेक्षा रहेको खुलाए ।