

अब पनि इगो त्यागिएन भने महाभारतमा यदु वंशीको विनाश जस्तै एनआरएन सकिने




एनआरएनए एकताबद्ध हुनु पर्ने भन्दै एक ठाउँमा उभिए संस्थापक तथा पूर्व अध्यक्षहरु
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो तथा पूर्वअध्यक्ष जीवा लामिछानेले नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई वास्तविक एकताका साथ एनआरएनको अभियानलाई अघि बढाउनु पर्ने सल्लाह व्यक्त गरेका छन्। सर्वोच्च अदालतको परमादेशपछि गठित उच्चस्तरीय समितिमासमेत रहेका महतो र लामिछानेले एकताको महाधिवेशन भने बहिष्कार गरेको अवस्था थियो ।
यता, महेशकुमार श्रेष्ठ नेतृत्वको सिङ्गो कार्यसमिति होटल हायातमा भएको महाधिवेशनबाट सर्वसम्मत चयन भएपछि पहिलो पटक सिङ्गो कार्यसमितिलाई महतोले आफ्नै निवासमा बोलाएका थिए भने उक्त भेटमा लामिछाने पनि सँगै थिए भने अर्का पूर्वअध्यक्ष भवन भट्ट अधिवेशनदेखि नै श्रेष्ठ सँगसँगै रहेको बुझिएको छ।
त्यसरी नै, उक्त भेटमा महतोले एनआरएनका सही योद्धा भन्दै सम्बोधन गरे भने उनले सबैले इगो त्यागेर एकताको वातावरण बनाउनका लागि अहिलेका साथीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। सबै एनआरएनहरू एक ठाउँमा नआउँदासम्म प्राप्त उपलब्धि पनि संस्थागत नहुने र आगामी दिन झनै अप्ठेरो हुनेतर्फ उनले सचेत गराएको प्रवक्ता गंगाधर गौतमले जानकारी दिएका हुन् । ‘नेगेटिभिटी र इगो त्यागेर संस्थालाई व्यक्तिभन्दा माथि राख्न उहाँले आग्रह गर्नुभयो ।’ महतोको भनाई उद्धृत गर्दै प्रवक्ता गौतमले आफ्नो धारणा राखे।
साथै, भेटका क्रममा अनलाइन भोटिङको आफूले सबैभन्दा पहिला विरोध गरेको स्मरण गराउँदै महतोले नेपालको हितका लागि पनि सबै काठमाडौँमा जम्मा भएर अधिवेशन गर्ने पक्षमा आफू रहेको जनाए ।
सोही क्रममा विगतमा तीन अध्यक्ष हुँदा होटल हिमालयको प्रसङ्ग कोट्याउँदै सर्वसम्मत भएकाले आफू त्यहाँ सहभागी भएको र चुनावमा अहिलेसम्म आफूले कसैलाई भोट नहालेको उनले खुलाएका थिए भने उनैले अहिले पनि केही साथीहरू बाहिर रहेको बताउँदै एकताको वातावरण बनाउनका लागि श्रेष्ठ नेतृत्वले त्यसमा बढी पहल गर्नु पर्नेमा जोड दिएको अवस्था छ।
सोही माहोलमा उनले आफू होटल हायातमा नगएको बताउँदै अरू साथीहरूले अक्टोबरमा गर्न लागेको अधिवेशनमा पनि सहभागी नहुने प्रस्ट पारेका छन् । ‘अहिले साथीहरू आउनु भयो, तपाईंहरुलाई शुभकामना दिन्छु, जुन दिन सबै साथीहरू एक भएर आउनुहुन्छ त्यसपछि मात्रै बधाई दिन्छु,’ महतोले थपे।
साथै, एकताको वातावरण बनाउनका लागि एनआरएनसम्बन्धी अदालतमा विचाराधीन सबै मुद्दाहरू फिर्ता लिएर सहमतिको वातावरण बनाउन उनले सबैलाई अपिल पनि गरे । अदालतको परमादेशपछि एनआरएन सचिवालयबाट तीन जना अध्यक्षहरूको फोटो हटाइएको विषयमा बद्री केसीले गल्ती गरेको उनले टिप्पणी गरे । ‘गल्ती सबैबाट भएको छ, अब एनआरएनएको विषय ‘इनफ इज इनफ’ । सबै एक ठाउँमा आउने वातावरण बनाउन पहल गरौँ,’ महतोको भनाई थियो ।
अब पनि इगो त्यागिएन भने महाभारतमा यदु वंशीको विनाश भएको जस्तै एनआरएन पनि सकिन्छ
सोही अवसरमा पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएको अहिलेको अवस्था आउनुमा आफूहरू पनि दोषी रहेको स्वीकार गर्दै अब सबैले इगो त्यागेर एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अब पनि इगो त्यागिएन भने महाभारतमा यदु वंशीको विनाश भएको जस्तै एनआरएन पनि सकिन्छ ।’ साथै उनले तमाम समस्या समाधानको एउटै उपाय भनेको वार्ता र संवाद भएको उल्लेख गर्दै त्यसका लागि पहल थाल्न श्रेष्ठलाई आग्रह गरे ।
सोही क्रममा पूर्व अध्यक्ष भवन भट्टले सबै साथीहरू एक ठाउँमा आउने वातावरण बनाउन अपिल गरे ।एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले अझैँ एकताको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए । अहिले धेरै कुराहरू सहज अवस्थामा रहेकाले संस्थाको साख बचाउन पनि सबै मिल्नुको विकल्प नभएको उनले बताए ।
उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एनआरएनभित्रको उतारचढावमा आफूहरू सबैको भूमिका रहेको स्वीकार गर्दै अहिले विवाद कम भएको रूपमा व्याख्या गरे । साथै उनले विवाद निरूपण गरी अहिलेको समस्याबाट निकास दिन संस्थापक र पूर्व अध्यक्षहरूले दिने गरी भूमिका खेल्न आग्रह पनि गरे ।
साथै, नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले पहिलो बैठकले नै एकताको आह्वान गरेको स्मरण गर्दै सबैलाई साथ लिएर हिँड्ने गरी आफूले तयारी गरिरहेको बताए । उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएकाले कानुनी झमेलामा नपर्ने बताउँदै एकताका लागि डा बद्री केसी र डा हेमराज शर्मासँग अनौपचारिक तरिकाले कुराकानी भइरहेको बताए । उनले यस विषयमा छिट्टै औपचारिक रूपमै अघि बढ्ने बताए । संस्थापक र पूर्व अध्यक्षहरूकै सुझाव अनुसार आफ्नो कार्यसमितिले एकताको वातावरण बनाउने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । कार्यक्रमको सहजीकरण महासचिव बीआर लामाले गरेको बताइएको हो।