

आगामी बजेट डिजिटल अर्थतन्त्रलाई सहयोगी हुनुपर्नेमा सभापति देउवाको जोड




काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्नेमा जोड दिएका छन् ।
यता, नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले यस्तो बनाए । ‘रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ,’ उनले भने, ‘डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको छ । आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्छ । यसबाट सूचना प्रविधिको प्रबर्द्धनमा टेवा पुग्ने छ।’
देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।
स्वदेशमा उत्पादित वस्तु बजार प्रबर्द्धन गर्न उद्योग व्यवसायलाई प्रबर्द्धन गर्नुपर्छ । स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।
साथै, सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता समीकरणलाई निरन्तरता दिइने विश्वास दिलाएका हुन्।