

‘बेडरुम’सम्म बिचौलियाको पहुँच रहेको कुरा प्रमाण रहित रहेको प्रधानमन्त्री ओलीको दाबी




काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ कुरामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले त्यस्ता झुटा आरोप प्रमाणित गर्न चुनौती समेत दिएका हुन् ।
यता, मदनभण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम पचाएर यस्ता आरोप लगाउँछन् भने ।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । उनले भने, एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौं । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको उनले टिप्पणी गरेका हुन् ।
साथै, पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनुनपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्लेषणात्मक चेत राख्न सुुझाव दिए । ‘पार्टीभित्र एकताको चेत चाहिन्छ भन्दै उनले विरोधीको आरोपको खण्डन गर्नुपर्छ । त्यस्तै, विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन’, उनले थपे ।