

थप अब्बल बन्दै सन नेपाल लाइफ, वैशाख ३० देखि हकप्रद सेयरको आवेदन खोल्ने




काठमाडौं । नेपाली बीमा क्षेत्रमा अग्रानिक ग्रोथ गर्दै आएका निकै सिमित कम्पनीहरु मध्ये एक हो, सन नेपाल लाइफ । कारण, सुरुवाती अवस्थादेखि उसको वित्तीय स्वास्थ र मजबुत रणनीत नै त्यसको मुख्य आधार हुनसक्छ। सोही सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा वैशाख ३० गतेदेखि आवेदन खुला हुने भएको छ । कम्पनीका अनुसार इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन हुने भएको हो ।
यता, सन नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख ५ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
साथै, इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्ने जनाइएको छ।
नेपाली बीमा क्षेत्रमा कान्छा बीमा कम्पनीहरुको रुपमा उदायका जीवन बीमा कम्पनीहरु मध्ये सन नेपाल लाइफको व्यवसायीक छवी, नागरिक तथा बीमितको हिसाबमा हेर्दा कम्पनीले आफ्ना मुख्य सूचकहरुमा राम्रो पकड बनाएको अवस्था छ । प्रकृयागत सुशासन र व्यावसायीक सफलताका कारण सन नेपाल लाइफले विभिन्न योजनाहरुमा नौलोपना समेत पस्कदै आएको यसलाई नजिकबाट नियाल्नेहरुले बताउने गरेका छन् ।
ठीक यही बेलामा नेपाली बीमा कम्पनीहरुका कुनै पनि प्रकृतिका सेयरमा लगानीकर्ताहरु आकर्षित भएको समेत अवस्था छ । त्यसका लागि लघु बीमा तथा अन्य जीवन र निर्जीवन बीमालाई समेत उदाहरणको रुपमा लिन सकिने कम्पनीका निकट स्रोतले बताएका छन् ।