

पाकिस्तानले गर्यो एयरस्पेस बन्द गर्ने निर्णय,अब भारतका कुनै पनि जहाज पाकिस्तानको आकाशमा नदेखिने




एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध केही कडा कदम चालेको छ । यसको प्रतिक्रिया स्वरूप पाकिस्तानले पनि केही निर्णयहरू गरेको छ, जसमध्ये एक हो, भारतीय विमान कम्पनीहरूका लागि आफ्नो हवाई क्षेत्र (एयरस्पेस) बन्द गर्ने निर्णय गरिएको अवस्था।
सोही निर्णयका कारण नै अब भारतीय विमानहरू पाकिस्तानको हवाई क्षेत्र हुँदै अन्य देशमा जान पाउने छैनन् । यो निर्णयअनुसार भारतीय समय अनुसार बिहीबार साँझ ६ बजेपछि कुनै पनि भारतीय विमानले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न पाउने छैन ।
पाकिस्तानको यो घोषणासँगै बिहीबार नै भारतीय विमान कम्पनीहरू सतर्क भएका थिए । त्यसबेला आकाशमा रहेका केही विमानहरू पाकिस्तानको हवाई क्षेत्रबाट उडिरहेका थिए, जसलाई तुरुन्तै भारततर्फ डाइभर्ट गरिएको थियो ।
भारतको एक विमान कम्पनीका वरिष्ठ अधिकारीले बताएका छन्, “जब पाकिस्तानले यो घोषणा ग¥यो, हाम्रो पहिलो प्राथमिकता हवाईमा रहेका विमानहरूलाई सुरक्षित रूपमा भारत फर्काउने थियो । त्यसपछि मात्रै आगामी रणनीतिमा काम गरियो ।”
यो पहिलो पटक भने होइन । सन् २०१९ मा भारतले बालाकोटमा एयरस्ट्राइकको दाबी गरेपछि पनि पाकिस्तानले भारतीय एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो, जुन २७ फेब्रुअरीदेखि १६ जुलाईसम्म चल्यो । त्यसबेला पनि भारतीय विमानहरूले वैकल्पिक रुट प्रयोग गर्नुपरेको थियो ।
पाकिस्तानी एयरस्पेस बन्द हुँदा सबैभन्दा धेरै असर दिल्लीबाट उड्ने विमानहरूमा पर्छ । अमृतसर, लखनऊजस्ता उत्तर भारतका केही विमानस्थलहरू पनि प्रभावित हुनेछन् । दिल्लीबाट मध्य एशिया, पश्चिम एशिया, युरोप, बेलायत र उत्तर अमेरिकातर्फ जाने विमानहरूले अब नयाँ रुट अपनाउनुपर्नेछ ।
एयर इन्डियाका पूर्वकार्यकारी निर्देशक तथा एभिएसन विशेषज्ञ जीतेंद्र भार्गवका अनुसार मुंबईबाट युरोप वा अमेरिका जाने विमानहरूमा खासै असर नपर्ला, तर दिल्लीबाट जाने विमानहरूलाई अब अहमदाबाद हुँदै डिटुर लिनुपर्ने हुन्छ । यसको सीधा असर उडान समय बढ्नु र इन्धनको खर्च वृद्धि हुनु हो । यसले गर्दा विमान कम्पनीहरूले टिकटको मूल्य बढाउने सम्भावना पनि बढ्छ ।
सन् २०१९ मा यस्तै अवस्थाले भारतीय विमान कम्पनीहरूलाई ५०० करोड रुपैयाँभन्दा बढी नोक्सान भएको थियो । तर केवल भारत मात्र नभई पाकिस्तानलाई पनि घाटा भएको थियो। बीबीसी उर्दू अनुसार, त्यसबेला पाकिस्तानले करिब ५ करोड डलरको ओभरफ्लाइट फी गुमाएको थियो ।
साथै, पाकिस्तानले यो प्रतिबन्ध केवल भारतीय कम्पनीहरूमा लागू गरेको छ । यसले गर्दा विदेशी एयरलाइन्सहरूले दिल्ली, लखनऊ वा अमृतसरबाट पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न पाउनेछन् । यसकारण उनीहरूको लागत बढ्ने छैन र उनीहरू प्रतिस्पर्धात्मक रूपमा सस्ता टिकट दिन सक्षम हुनेछन् । त्यसैले, पाकिस्तानको यो निर्णयले सुरुमै भारतीय कम्पनीहरूको लागत बढाउनेछ र त्यसको असर अन्ततः यात्रुहरूको टिकट मूल्यमा पर्ने जनाइएको हो।