

स्वास्थ्यका कारण शिक्षामन्त्रीले राजीनामा दिनु भयो : प्रधानमन्त्री ओली




काठमाडौं । एकातिर शिक्षकहरुको संगठनले राजधानीको सडक जाम गरेर सर्वसाधारणहरु मर्कामा छन् भने ठीक यही बेलामा तातो घाममा २ हप्ता बढी चिच्याएका शिक्षकहरुको माग सरकारले सम्बोधन नगरेको उनीहरुको आरोप छ । यस्तै आरोप-प्रत्यारोप चलिरहेको बेलामा शिक्षा मन्त्रीले एक्कसी पदबाट राजीनामा दिँदा सोही विषयमा ठूलो टिका टिप्पणी समेत भइरहेको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको विषयमा केन्द्रित हुँदै आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको खुलासा गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानमन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टिमा केन्द्रित हुँदै भने, ‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु। सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’
साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताएका हुन्।