

झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला




झापा । नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी संख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बीमित रहेको बताइन् । स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार सात सय ९० जना बीमित छन् । झापापछि बीमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथो) रहेका छन् ।
मोरङमा छ लाख एक हजार चार सय २९ जना, सुनसरीमा पाँच लाख ७५ हजार छ सय ९५ जना र चितवनमा पाँच लाख ६५ हजार सात सय १० जना बीमित छन् ।
उनले झापामा कूल जनसंख्याको ६९ दशमलव ६७ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको जानकारी दिइन् । १५ पालिका रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी बीमितको संख्या दमक नगरपालिकामा रहेको छ भने कम संख्या झापा गाउँपालिकामा रहेको छ ।
दमकमा एक लाख ११ हजार ८० जना अर्थात त्यहाँको जनसङ्ख्याको एक सय तीन प्रतिशत बीमित रहेको संयोजक कँडेलले जानकारी दिइन् । भुटानी शरणार्थी र घर भाडामा बस्नेको बिमा भएको हुँदा दमकमा नगरको जनसंख्याभन्दा धेरै बीमित रहेको उनले बताइन् ।
यसैगरी, अर्जुनधारा नगरपालिकामा ४९ हजार सात सय ६९, भद्रपुरमा ५५ हजार ८३, बाह्रदशी गाउँपालिकामा २० हजार तीन सय २७, विर्तामोडमा ८१ हजार नौ सय ४९, बुद्धशान्ति गाउँपालिका ३८ हजार छसय ४७ र गौरादह नगरपालिका ४६ हजार नौ सय ३१ जना बीमित भएका छन् ।
उनले जिल्लामा स्वास्थ्य बिमाबाट पाउने सेवाप्रति जनताको आकर्षण बढ्दै गएकाले नवीकरण गर्नेको संख्यासमेत वृद्धि भइरहेको बताइन् । उनले लक्षित वर्ग समूहमा धेरै नागरिक बीमित रहेको बताइन् । प्रादेशिक अस्पताल भद्रपुरसहित जिल्लाका १४ वटा प्राथमिक सेवा प्रदायक संस्थाबाट बीमितले सेवा लिइरहेका छन् । रेफर भएका बीमितले विर्तामोडको विएन्डसी, कनकाई अस्पताल, भद्रपुरको ओमसाई पाथीभरा, दमकको निम्स, आम्दा र दमक अस्पतालबाट बीमितले सेवा पाइरहेको उनको भनाइ छ । झापाका पाँच वटा आँखा अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बीमितले सेवा पाइरहेका छन् ।
उनले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा पालिकाहरु र स्वास्थ्य सेवा प्रदायक संस्थासँग आवश्यक समन्वयको अभाव हुने गरेको बताइन् ।