

समयमै दाबी–भुक्तानी नदिने बीमा कम्पनीलाई कानुनी कारबाही हुनुपर्छ : ईप्पानका अध्यक्ष कार्की




काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले बीमा दर्पण डटकमलाई शुभकामना दिएका छन् । उनले बीमा गराउँने बेलामा सहजै गराइने तर दाबी–भुक्तानी पाउने बेलामा (सम्बन्धित बीमित र कम्पनीले) खेप्नु पर्ने अनावश्यक सास्ती तथा हैरानी खोजीको विषय हुने बताए ।
स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कार्कीले बीमा दर्पण डटकमसँग भने,‘सर्वप्रथम त शुभकामना छ । यो पत्रिकाले साच्चै नै नेपालको आर्थिक विकासको क्षेत्रमा स्वच्छ र विश्वासपूर्ण समाचारहरु प्रकाशन गर्न सकोस् । अहिले बीमासँगसँगै पूर्वाधारको क्षेत्रलाई, त्यसमा पनि जलविद्युतलाई अझ विशेष हिसाबले समेटनु पर्ने देखिन्छ । देश विकासको मुख्य आधार भनेकै पूर्वाधार विकास नै हो । अहिले जलविद्युतमा बीमाको भूमिका कस्तो हुनुपर्ने हो ? बीमा र जलविद्युतको सम्बन्ध कसरी अघि जानु पर्ने हो ? भन्ने कुरा समेटन आवश्यक छ । अहिले बीमासँग सम्बन्धित विषयहरु धेरै छन् । नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीले आगामी दिनमा पूर्वाधार क्षेत्रको महत्वलाई कसरी हेर्नु भएको रहेछ ? भन्ने कुरा हामीले पढ्न पाए राम्रो हुन्थ्यो । खासमा बीमाकै नामको पोर्टल ल्याउँनु भएको छ । यहाँहरुले हेर्नु होला । बीमा जति विश्वासिलो हुन्छ त्यति नै उसको पनि व्यापार बढ्ने हो । नत्र हामीले गरेका बीमा गरेपछि क्लेम पाउँछौं कि पाउँदैनौ ? भन्ने तथा सशंकित हुनुपर्ने अवस्था छ । बीमा गराउँन सहज छ तर दाबी–भुक्तानी लिने बेलामा महाभारत नै झेल्नु पर्ने हुन्छ ।’
उनले थपे,‘पछिल्लो समय नेपालमा ठूला–ठूला जलविद्युतका कम्पनीहरु आउँन थालेका छन् । यो सँगसँगै नेपालका मात्रै बीमा कम्पनीले मात्रै त्यसलाई धान्न सक्दैनन् । त्यसैले अब विदेशी कम्पनी पनि भित्र्याउँनु पर्छ भन्ने माग हामीले राख्दै आएका छौं । बीमाकै कुरा गर्दा नेपालमा नयाँ पूनर्बीमा कम्पनीहरु आइसकेको र उसले नसकेको बेलामा मात्रै बाहिर बीमा गर्नुस् भन्ने कुराहरु छन् । तर, त्यसले गर्दा हामीलाई बीमा गराउँन निकै महङ्गो भएको अवस्था छ । कतिपय राम्रा विदेशी कम्पनीहरुमा जान नपाउँने अवस्था पनि छ । अब त्यस्ता प्रावधानहरुलाई हटाएर विश्व बजारसँग स्वच्छ प्रतिस्पर्धा गराएर अघि जानुपर्छ । हामीले साच्चै नै बीमा गर्दा ढुक्कसँग सुक्षित छौं भन्ने अवस्थाको निर्माण हुनुपर्यो भन्ने कुरा यहाँहरुले उठाईदिनु होला ।’
उनले अहिले सबैभन्दा ठूलो क्षेत्रको रुपमा जलविद्युत स्थापित भएको पनि प्रष्ट पारे । अहिले नै तीन हजार मेगावाटभन्दा बढीको उत्पादन भइसकेको र अर्को तीन–चार हजार (कन्स्ट्रक्सन) निर्माणको क्रममा, पाईपलाइनमा रहेको उनले सुनाए । नेपालमा बीमाको लागि सबैभन्दा ठूलो क्षेत्र जलविद्युत रहेको भन्दै अध्यक्ष कार्कीले राम्रो बजार निर्माण गर्दै बीमितको माग अनुसार क्लेम तिर्नु पर्दा बीमा कम्पनीले आफ्नै बजार सुरक्षित बनाउँन र उनीहरुको आम्दानीको ठूलो हिस्सा रहेको क्षेत्रमा भुक्तानी दिन आनाकानी गर्न नहुने बताए ।
अन्तिममा उनले थपे,‘सरकारले पनि यसमा स्पष्ट गाईडलाइन बनाइदिए हुन्छ । यदी सरकारले गाईडलाइन नबनाएर छोड्दा कतिपय क्षेत्रले बीमा नै गर्दैनौ भन्ने अवस्था पनि सिर्जना हुन सक्छ । यो जलविद्युत् भनेको खोलासँग सम्बन्धित हुने भएकाले यसमा क्षति हुने कुरा आउँन सक्छन् । अर्को कुरा भनेको जलविद्युत् भनेको देशलाई साच्चैको समृद्ध बनाउँने क्षेत्र हो । यसले देशका समस्त आर्थिक समृद्धिका थुप्रै पाटाहरुलाई अघि बढाउन सक्छ । थुप्रै कलकारखाना चल्ने अवस्था रहन्छ । देशभित्र खपतगर्दा होस् वा विदेशमा बिक्री गरेर विदेशी मुद्रा भित्र्याउँने कुरामा यो क्षेत्र सबल रहेकाले सरकारले यसलाई फरक ढंगले हेर्नुपर्छ । अब नेपाली बीमा कम्पनीहरुको (स्ट्रेन्थ) जोखिम धारण क्षमता बढाउँदै जानुपर्छ र आफू सक्षम नभएका ठाउँमा विदेशी बीमा कम्पनीलाई पनि भित्रउँदै जानुपर्छ । साच्चै बीमा गरेर कतिपयले दाबी भुक्तानी पाएनन् भने सम्बन्धित बीमा कम्पनीलाई कारबाही गर्दै पनि जानुपर्ने हुन्छ । समयमा भुक्तानी गर्न सक्दैनन् र बीमाको लागि मात्रै बीमा गर्ने हो भने त्यस्ता कम्पनीहरुलाई सरकारले कानुनका परिधी भित्र ल्याएर कारबाही प्रकृया अघि बढाउनु पर्छ ।’