

पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो




काठमाडौँ। निरन्तर खुम्चिरहेको शेयर बजारमा आज केहि सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि निरन्तर घट्दो अवस्थामा रहेको बजार आज बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ । बजारमा बढोत्तरी भए पनि अधिकांश लगानीकर्ता अन्यौलमा रहेका छन् ।
मौद्रिक नीतिले केही समय बजारमा सकारात्मक संकेत दिएको भए पनि पछिल्ला हप्ताहरूमा सूचक निरन्तर घट्दा लगानीकर्ताको उत्साह हराउँदै गएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६ अकंले बढेर २७७0.३९ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ११ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.३७ प्रतिशत, फाइनान्स समूहको ०.२४ प्रतिशत र होटल तथा पर्यटनको ०.२८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ ।