
निवर्तमान गभर्नर अधिकारीको ५ वर्षमा साढे २३ लाख रुपैयाँले सम्पत्ति बढ्यो



काठमाडौं । पाँच वर्षको अवधिमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण साढे २३ लाख रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरिएको छ । उक्त तथ्यांक चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पदको कार्यकाल समाप्त भएको अधिकारीले आज चैत २६ गते सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
त्यस्तै, २०८१ साल चैतसम्ममा उनको कुल सम्पत्ति ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ । २०७६ साल चैतमा उनको कुल सम्पत्ति ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ रहेको थियो । अधिकारीको सम्पत्ति ५ वर्षको अवधिमा २३ लाख ४४ हजार ४१० रुपैयाँले बढेको हो । यो कुल सम्पत्ति डलर खातामा रहेको पैसा बाहेक रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।
यता, २०८१ चैतसम्म वाणिज्य बैंकको अधिकारीको डलर खातामा २८ हजार ६०८ डलर रहेको छ । २०७६ चैतसम्म अधिकारीको डलर खातामा २ हजार ३०२ डलर रहेको थियो । सार्वजनिक विवरणअनुसार अधिकारीसँग ३२ लाख रुपैयाँ मूल्यांकनको घर र १ करोड ८ लाख ५१ हजार रुपैयाँ मूल्यांकनको १० कित्ता जग्गा रहेको देखिएको हो।


