
पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवा लगियो, अदालतमा सोमबार मात्रै उपस्थित गराइने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ ।
शुक्रबार राति बूढानीलकण्ठस्थित आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा पुर्याइएको हो ।
अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई बुटवलको सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए ।
रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।


