
सुकुम्बासीहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिन सरकारसँग सांसदको माग

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइएको अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको प्रारम्भमै बोल्दै सांसद कामीले सुकुम्बासीहरूको समस्या अस्थायी उपायबाट नभई दीर्घकालीन योजना बनाएर समाधान गर्नुपर्नेमा जोड दिइन्। उनले सरकारले नगद वितरण गरेर जिम्मेवारीबाट पन्छिन खोज्नु उपयुक्त नहुने भन्दै सुरक्षित आवाससहितको स्थायी व्यवस्थाको कार्ययोजना तत्काल सार्वजनिक गर्न आग्रह गरिन्।
संसदमा बोल्दै उनले भनिन्, “पाँच दिनभित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम तत्काल फिर्ता लिइयोस्। अस्थायी रूपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, सुकुम्बासीहरूलाई सुरक्षित आवाससहित दीर्घकालीन समाधानको कार्ययोजना सार्वजनिक गरियोस्।”
सांसद कामीले लगतबाट छुटेका वास्तविक सुकुम्बासीहरूको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानजनक ढंगले राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
उनले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति पर्याप्त रूपमा जवाफदेही नदेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरिन्।

