

तीनकुनेको कर्फ्यु हट्यो




काठमाडौैं । राजधानीस्तित तीनकुने क्षेत्रमा हिजो साँझबाट लगाइएको कर्फ्यु आज बिहान ७ बजेबाट हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको जनाएका हुन्।
हिजो साँझ ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।
यता, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले एक सूचनामार्फत जानकारी दिएको अवस्था छ ।