

राजावादीको त्यो तातो आगो, जस्ले जलायो एभिन्युज टिभीका युवा पत्रकारको ज्यान




काठमाडौं । शुक्रबार राजावादी समूहले आगजनी गरेको राजधानीस्थित तीनकुनेको घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको जनाइएको हो।
एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको जनाइएको छ।
उनले एभिन्युज टिभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।
रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर, शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ ।