
दाङमा ७७ प्रतिशत रोपाइँ

दाङ । दाङमा साउनको पहिलो दिनसम्म ७७ प्रतिशत रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीका अनुसार देउखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाइँ भइसकेको छ । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दङ्गीशरण, शान्तिनगर र बबईलगायत पालिकामा रोपाइँ जारी रहेको उनले जानकारी दिइन ।
देउखुरी उपत्यकामा पर्ने लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेकाले ९८ प्रतिशत धान रोपाइँ भइसकेको कार्यालयले जनाएको छ । दाङ उपत्यकामा भने हालसम्म ६० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत भण्डारीले बताइन् । उनका अनुसार सिँचाइ सुविधा पुगेको देउखुरीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भए पनि आकाशे पानीको भरमा खेती हुने स्थानमा अझै रोपाइँ हुन बाँकी छ । लामो समय पानी नपरेर सुक्खा भएकाले जिल्लामा सञ्चालनमा आएका जलाशयबाट लिफ्टिङमार्फत पानी प्रयोग गरी समयमा ब्याड राखे पनि रोपाइँ गर्ने प्रयाप्त पानी नपुगेपछि ढिला भएको उनको भनाइ छ ।
केही दिनयतादेखि जिल्लामा लगातार भइरहेको वर्षाका कारण अहिले धमाधम रोपाइँ भइरहेको छ । वरिष्ठ कृषि प्रसार अधिकृत भण्डारीका अनुसार जिल्लामा कूल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती हुने गरेको छ । जसमा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टरमा धानखेती हुने गरेको जनाउँदै सबैभन्दा कम बङ्गलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धानखेती हुने गरेको उल्लेख गरिन। यसवर्ष धानखेतीमा आयातित हाइब्रिड बीउको प्रयोग बढी देखिएको छ । पछिल्ला केही वर्षयता किसानले उन्नत तथा स्थानीय जातका धानखेती गर्नसमेत थालेका छन् । केन्द्रका अनुसार यहाँका किसानले सावित्री, मनसुली, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायत वर्णशङ्कर जातका धान लगाएका छन् ।
कम पानी हुने ठाउँमा सुक्खा-१, सुक्खा-२, सुख्खा-३ जातका धानखेती गरेका छन् । स्थानीय जातमध्ये तिल्की र सिम्ठारो धान केही किसानले खेती गरिरहेका छन् । गतवर्ष दाङमा ३५ हजार ३२८ हेक्टर जमिनमा एक लाख ४४ हजार २६४ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

