

उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठनसँगै सकारात्मक देखिए अर्थमन्त्री पौडेल




काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन भएको छ। उक्त गटन प्रदेश च्याप्टरको भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरे।
कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सरकारले थप भूमिकाको आशा गरेको बताए । सोही क्रममा उनले गतिशिल समय र तीब्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिएका छन् । उनले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको भन्दै देश हामीले बनाउने हो, हामीले बनाउँछौं भन्ने सन्देश युवाहरुमा पुर्याउन उद्यमीहरुलाई आग्रह गरेका हुन्।
त्यस्तै, अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए । उनले सरकारले विगतदेखिका समस्या गर्न, निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । हाल सुधार गरिएको कानुनमा सुधार मात्रै रहेको उनले बताए । सुधारको काम, अनुकूल व्यवसायिक वातावरण थप बढाउँदै लैजाने प्रतिबद्धता समेत उनले स्पष्ट पारे।
सोही कार्यक्रममा, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरुलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उनले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउन समेत आग्रह गरे । ‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ’ उनले भने, ‘सरकारले आगामी बजेटमार्फत युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिने विश्वास लिएको छु ।’
यता, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण योगदान गरेको बताए । उनले सरकारले युवाहरुलाई उच्च प्राथमिकतामा राख्दै सोही अनुरुप नीति बनाएको र बनाउने क्रममा रहेको बताए । उनले कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवाहरुलाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवाहरुलाई धन्यवाद व्यक्त गरे । उनले उद्योग व्यवसाय ओरालो लागिरहेको, निराशा बढिरहेको र थोरै भएपनि उद्योगी व्यवसायीहरु समेत पलायन हुने अवस्था सिर्जना हुनु निकै चिन्ताको विषय रहेको बताएका हुन् ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सक्ने भन्दै युवाहरुलाई प्रोत्साहनका खाँचो रहेको बताए । उनले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ युवाहरु अघि बढ्न चाहेको बताए । युवाहरुलाई नीतिबाट प्रोत्साहन गर्ने हो भने देशभित्र धेरै अवसर रहेकाले युवा देशमै बसेर केही गर्न सक्ने उनको भनाई थियो ।
त्यस्तै, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन् ।
साथै, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको बताइएको हो।