
सगरमाथा संवादको सचिवालयमा ओलीको अनुगमन



काठमाडौं । सगरमाथा संवाद कार्यक्रमलाई पारदर्शी बनाउँन प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आउने जेठ २ गतेदेखि ४ गतेसम्म राजधानीमामा आयोजना हुने तयारीमा रहेको सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।
यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सगरमाथा संवादको सचिवालयमा शुक्रबार निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त भएको सन्देश अन्तरराष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिन पुगे।
त्यस्तै, सोही संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको जनाइएको छ ।
सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरेको बेलामा सचिवालयका सदस्य सचिव डा महेश्वर ढकालले कार्यक्रमको हालसम्मको तयारीबारे छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।
साथै, प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सगरमाथा संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए। सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको बताइएको छ।


