

४९ अंकले नेप्से परिसूचक बढ्दा, ११ अर्बको कारोबार




काठमाडौं । बिहीबार नेप्से परिसूचक एक्कासी उच्च अंकले बढ्न पुग्यो। आज कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४९ दशमलव १५ अंकले बढेको हो ।
मौद्रिक नीतिको समिक्षाको सकारात्मक प्रभाव परेको पनि यससँगै टिका टिप्पणी हुन थालेको छ । बिहीबार कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २८१५ दशमलव ०४ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १।७७ प्रतिशतले धेरै हो भने सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।
यता, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २।१२ प्रतिशत अर्थात् ९ दशमलव ७५ अंकले बढेर ४६९ दशमलव ८२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ उपसूचकको सेयर मूल्य नै बढेर कारोबार भएको हो ।
साथै, सातामा सेयर कारोबारको अन्तिम दिनमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा ११ अर्बभन्दा माथिको कारोबार भएको छ भने अघिल्लो कारोबार दिन भने ९ अर्ब ९० करोड बढीको कारोबार भएको थियो । आज सेयर बजारमा ३०० कम्पनीका २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर १ लाख १२ हजार ३२ पटक खरिल बिक्री हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८१५ रुपैयाँको कारोबार भएको हो ।
नेप्से परिसूचकका अनुसार आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको देखिन्छ ।