
समस्या हल गर्न जोड दिनु होस् : लघु बीमक संघका अध्यक्ष भण्डारी



काठमाडौं । लघु बीमक संघका अध्यक्ष तथा गार्डीयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बीमा दर्पण डटकमलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष भण्डारीले बीमाको अपरिहार्यता व्यक्तीको जीवनमा अथाह हुने भए पनि कता–कता त्यसको सकारात्मक भन्दा नकारात्मक कुराका प्रचार हुने तितो यथार्थ रहेको बताएका हुन् ।
अध्यक्ष भण्डारीले बीमा दर्पण डटकमसँगको कुराकानीमा भने,‘एउटा कुरा कस्तो हो भने अहिले पनि बीमा सम्बन्धि नकारात्मक कुराहरु नै बढी मात्रामा आएको हामीले पाउँछौं, सुन्छौं । नकारात्मक पक्षमा भन्दा पनि वास्तविक रुपमा के कस्ता समस्या भएको हो र त्यसलाई सामाधान गर्ने पाटोमा अब समाचाहरु लेखिनु पर्छ । कुनै पनि कुराको समाधानतर्फ हामी लाग्दा नै त्यसले समग्र उद्योगलाई राम्रो गर्ने हो ।’ उनले बीमा उद्योग भनेको देशको अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटो रहेको बताए ।
लघु बीमा कम्पनीहरुको रुपमा समेत अन्य कम्पनीको तुलनामा केही भिन्न अनुभव हाँसिल गरेको आधारमा उनले भने,‘हामीले ग्रामिण वर्गलाई बीमा गर्न झन धेरै आवश्यक भएको देख्यौ । सिमान्तकृत वर्ग र आर्थिक अवस्था न्यून भएका नागरिकहरुले त जतिसक्दो बीमामा आवद्ध हुनुपर्ने देखियो । उहाँहरुलाई बीमाको दायरामा ल्याउन सरकारले नै केही स्थानमा बीमा अनिवार्य गर्नु पर्ने समेत देखिन्छ ।’
अध्यक्ष भण्डारीले सधैका लागि नागरिकहरुलाई बीमा अनिवार्य नगरे पनि एक वर्षलाई मात्रै त्यस्तो व्यवस्था लागू गर्न सके देशमा रहेका धेरै विपन्न नागरिकहरु बीमाको दायरामा आउँनेमा जोड दिए । उनले लघु बीमाले सधै जोखिम लिन तयार रहेको सुनाउँदै स्थानिय निकायहरुले बीमाको महत्व बुझाउन लागेमा नागरिकमा बीमा गरौ भन्ने भावना बढ्दै जाने बताए ।
शुभकामना दिने क्रममा उनले थपे,‘अनिवार्य गरिएका मोटर बीमामा नागरिकहरुको सहभागीता राम्रो रहेको छ । त्यसमा बीमा कम्पनीहरुले सबै जोखिम लिएको जस्तै, सरकारले नै नीतिगत तहबाट केही निर्णय गर्ने हो भने लघु बीमाले पनि विपन्न नागरिकहरुको ठूलो मात्रामा जोखिम लिन सदैव तयार रहेको छ । त्यस्तो गर्न सकेमा आर्थिक स्तर कमजोर भएका आमा,बुवा, दाजुभाई, दिदी–बहिनीहरुले धेरै लाभ लिन सक्ने ठाउँ छ । पत्रिकाको माध्यमबाट पनि यहाँहरुले बीमाको महत्व बुझाउन सक्ने ठाउँ चाही धेरै छ ।’

