

नेपाल एक खेलअगावै फाइनलमा, लेबनान १–० ले पराजित




काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नु अगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन् ।
नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ४२औं मिनेटमा सावित्रा भण्डारीले गरेको गोल नै नेपाललाई जितका लागि प्रयाप्त बन्यो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।
१०औं मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो । समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।