
१५ कठ्ठामा गरिएको सिंगाडाखेतीबाट दुई महिनामा चार लाखसम्म आम्दानी
बाँके । बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँको तलाउमा सिंगाडा टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ । परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएका कश्यपले एक सिजनमा करिब चार लाख रुपैयाँ आम्दानी गर्दै उदाहरणीय किसानको पहिचान बनाएका छन् ।
केही दिनयता उनको दिनचर्या फेरिएको छ । उनी बिहानै तलाउमा पुगेर सिंगाडा टिप्ने र दिनभर बिक्रीवितरण गर्ने काममा व्यस्त हुन्छन् । गाउँपालिकासँग वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ लिएर उनले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन् ।
अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले आफू यस खेतीतर्फ आकर्षित भएको कश्यपले बताए ।
“अहिले सिंगाडाको सिजन हो । सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु । प्रतिक्विन्टल छ हजार रुपैयाँका दरले गाउँबाटै बिक्री भइरहेको छ । व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन”, उनले भने ।
कश्यपका लागि सिंगाडाखेती व्यवसाय मात्र नभई पुर्ख्यौली विरासत पनि हो । बाउबाजेको पालादेखि गर्दै आएको यही पेसाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ । सिजन सुरु भएपछि परिवारका सदस्य बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्ने, सफा गर्ने र तौलेर व्यापारीलाई बुझाउने काममा खटिन्छन् । माग बढी भएका बेला उनले चारदेखि पाँच जनासम्म ज्यालादारी मजदुर लगाउने गरेका छन् ।
असारमा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिरमा सिंगाडा टिप्न तयार हुन्छ । एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न सकिने कश्यपको अनुभव छ ।
“सिंगाडाको बीउ असारतिर पानीमा हाल्छौँ । कात्तिक–मङ्सिरमा उत्पादन हुन्छ । अन्य बालीमा जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, उनले भने, “रोपेपछि आवश्यकताअनुसार दुई–तीन पटक किराबाट जोगाउन विषादी र भिटामिन हाल्छौँ । त्यसपछि उत्पादन राम्रो हुन्छ ।”
चाडपर्व र मेलामा बढी माग
बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिंगाडाखेती हुने गरेको छ । बाह्रै महिना उपलब्ध नहुने भएकाले कात्तिक र मङ्सिरमा यसको माग उच्च हुन्छ । विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाका बेला सिंगाडाको खपत बढ्ने गरेको छ ।
व्रत बस्नेहरूले सिंगाडा उसिनेर खाने, पिसेर हलुवा बनाउने तथा तरकारीका रूपमा प्रयोग गर्ने भएकाले यसको माग रहने गरेको छ । यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए । नेपालगञ्जका खुद्रा व्यापारी ताजा सिंगाडा खरिद गर्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन् ।
उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको कश्यपको गुनासो छ । भन्सार छली चोरीको बाटोबाट भित्रिएको भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको उनले बताए ।
सीमा नाकामा निगरानी बढाएर अवैध आयात नियन्त्रण गर्न सके स्वदेशी उत्पादनले उचित बजार र मूल्य पाउने तथा गाउँकै तलाउबाट थप आम्दानी गर्न सकिने उनको विश्वास छ ।


