
एनटी फाइबर माग र व्यवस्थापन : सेवाप्रति बढ्दो विश्वास र सकारात्मक प्रतिक्रिया
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच रनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने यस सेवाप्रति बढ्दो विश्वास र सकारात्मक प्रतिक्रियाका लागि सम्पूर्ण सेवाग्राहीप्रति हार्दिक आभार व्यक्त गर्दछौ । प्राप्त माग अनुसार सेवा जडान गर्दै जाने र गुणस्तर सुनिश्चितताको प्रतिबद्धता समेत व्यक्त गर्दछौ ।
सेवाग्राहीको बढ्दो मागअनुसार एनटी फाइबर जडान कार्यलाई थप प्रभावकारी बनाउन कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइरहेको छ । कतिपय कार्यालयहरुमा मागको चाप बढेको तथ्य हृदयंगम गरी आवश्यक व्यवस्थापकीय सुदृढीकरण कार्य प्राथमिकताका साथ भइरहेको छ ।
सेवाग्राहीको बढ्दो मागलाई सम्बोधन गर्दै आपूर्ति श्रृंखला अवरुद्ध हुन नदिन कम्पनी अहोरात्र प्रयासरत छ । साथै, नेपाल सरकारको कम्पनी भएकोले आपूर्ति श्रृंखला व्यवस्थापनमा विधिवत प्रक्रिया अवलम्बन गरी निरन्तर रुपमा सेवा प्रवाहका लागि आवश्यक कार्य भइरहेको छ ।
एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाउनुभएको विश्वास र चासोले कम्पनीलाई सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरित गरेको छ । सेवाग्राहीको विश्वास नै हाम्रो ऊर्जा हो । गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्ने यात्रामा दिनुभएको साथ, सहयोग र धैर्यताका लागि नेपाल टेलिकम पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछ ।


