
नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार साँझ ५ बजे हुने साधारणसभाबाट रेग्मीलाई औपचारिक रूपमा अध्यक्ष घोषणा गरिने भएको हो ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघको यसअघिको कार्यसमितिमा रेग्मी उपाध्यक्ष थिए । पछिल्ला केही वर्षदेखि संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास हुँदै आइरहेको छ । यसैगरी, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल संघको उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । उनी यसअघि कार्यसमिति सदस्यका रूपमा कार्यरत थिए ।
संघको नयाँ कार्यसमिति गठनसँगै केही सदस्यको जिम्मेवारी समेत हेरफेर हुने भएको छ । संघको विधानअनुसार प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएपछि कार्यसमितिको सदस्यता स्वतः समाप्त हुने व्यवस्था छ । सोही व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकबाट हालै अवकाश भएका अजयविक्रम शाहको सदस्य पद रिक्त भएको छ । त्यस्तै, लगातार दुई कार्यकाल कार्यसमिति सदस्य भइसकेपछि पुनः सोही पदमा दोहोरिन नपाउने व्यवस्थाका कारण एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि कार्यसमितिबाट बाहिरिने भएका छन् । एक कार्यकाल पूरा गरिसकेका नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे भने अर्को कार्यकालका लागि दोहोरिने भएका छन्।
खालिङ र शाहको स्थानमा सानिमा बैंकका पवनकुमार आचार्य तथा सिद्धार्थ बैंकका रामेश्वरप्रसाद बस्याल कार्यसमिति सदस्यका रूपमा आउने भएका छन् । खनाल उपाध्यक्षमा चयन भएपछि उनले छाड्ने कार्यसमिति सदस्यको स्थान भने नयाँ कार्यसमितिले नियुक्त गर्नेछ । निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति १० सदस्यीय रहने व्यवस्था छ ।


