
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण
काठमाडौं । किरात समुदायको धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्र साल्पा–सिलिचुङमा मुन्दुमी मिथकलाई भौतिक रूपमा प्रस्तुत गर्ने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएको । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सङ्गमस्थलमा अवस्थित साल्पा–सिलिचुङ क्षेत्रमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो) सहितको प्रवेशद्वार तथा स्वागतद्वार निर्माण गरिएको हो ।
साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बु राई ‘मूलघरे कान्छा’का अनुसार देश तथा विदेशमा रहेका किराती र गैरकिरातीबाट सङ्कलित करिब दुई करोड ८४ लाख रुपैयाँमध्ये दुई करोड ६२ लाख रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च गरिएको छ ।
“साल्पा–सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरूको मुन्दुम तथा रिसियामा आउँछ। यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ,” अध्यक्ष राईले भने ।
किराती मुन्दुमअनुसार साल्पा–सिलिचुङलाई सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र मान्ने जनविश्वास छ। यही मुन्दुमी मिथकलाई भौतिक रूपमा प्रस्तुत गर्न संरचना निर्माण गरिएको उनले बताए । यसले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।
साल्पा–सिलिचुङको समग्र विकासका लागि २०७९ सालमा अन्तर्राष्ट्रिय समिति गठन गरी विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पारेर स्तरोन्नतिको काम सुरु गरिएको थियो ।
तीन चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो वर्ष २०८१ वैशाख ७ गते सुम्निमा, पारुहाङ र नाक्छुङका प्रतिमा स्थापना गरिएको थियो। दोस्रो वर्ष २०८२ वैशाख १ गते सुम्निमा र पारुहाङका प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम निर्माण गरिएको थियो।
यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबुरसोलोन्वा (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा र नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको आयोजकले जनाएको छ ।
‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत देशमा रहेका नेपाली जोडिएका छन् । अभियानका लागि साउदी अरबमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको थियो ।
समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा अवस्थित साल्पा–सिलिचुङ क्षेत्रको समग्र विकासका लागि अध्ययन तथा अनुसन्धान समिति पनि गठन गरिएको थियो । करिब चार वर्ष सञ्चालन गरिएको अभियानको आर्थिक तथा भौतिक प्रगति मङ्सिर १८ गते काठमाडौँमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिने अध्यक्ष राईले जानकारी दिए ।
धार्मिक तथा पर्यटकीयस्थल सिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण र मेरापिकलगायत हिमशृङ्खला, तराईका फाँट, विभिन्न नदी, वनजङ्गल तथा किराती बस्ती देख्न सकिन्छ ।
साल्पापोखरीबाट उत्तरपूर्वमा पर्ने सिलिचुङ समुद्री सतहबाट चार हजार १५५ मिटर उचाइमा छ । टेम्के, मैयुङ, लौरे र चिलिमढुङ्गालगायत आसपासका डाँडामध्ये सिलिचुङ सबैभन्दा अग्लो मानिन्छ । टेम्के तीन हजार १६५ मिटर र मैयुङ तीन हजार ३३३ मिटर उचाइमा छन् ।
किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदीमा रहेको साल्पापोखरीमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ आन्तरिक तथा बाह्य पर्यटकले पूजाआजा गर्दै आएका छन् । पोखरीमा हरेक वर्ष वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा मेला लाग्ने गर्छ ।
मुहान र निकासबिनै पानी जमेर बनेको मानिने साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बुलगायत जिल्लाबाट भक्तजन पुग्ने गरेका छन् । पोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नभएकाले सन्तान प्राप्त गर्ने तथा धामीझाँक्रीले मुन्दुमी शक्ति प्राप्त गर्ने धार्मिक जनविश्वास रहिआएको छ ।
कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहबाट तीन हजार ६७२ मिटर उचाइमा छ । पहिलोपटक सगरमाथा आरोहण गर्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेको बताइन्छ ।
नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग साल्पा–सिलिचुङ क्षेत्रसम्म विस्तार गरिएको छ। मुन्दुम पदमार्गले छोएका स्थानलाई जोड्दै खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पदमार्ग निर्माण गरिरहेका छन् ।
प्रचारप्रसारको अभावमा ओझेलमा परेको साल्पा–सिलिचुङ क्षेत्रमा पछिल्लो समय पदमार्गसँगै होटल तथा होमस्टे विस्तार हुन थालेका छन्। होटल तथा घरबासको सुविधा बढ्दै गएपछि मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।


