
लाभांश घोषणा सहित सोल्टी होटलले बोलायो साधारण सभा, बुक क्लाेज कहिले ?
काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट ३६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
होटलले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस २१ गतेका लागि ५२ औँ वार्षिक साधारणसभा गर्ने समेत निर्णय गरेको छ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


