
इस्टोनियाले शत्रुतापूर्ण गतिविधि जारी राखे खुला युद्ध हुने रुसको चेतावनी
काठमाडौं । रुसले छिमेकी बाल्टिक राष्ट्र इस्टोनियामाथि शत्रुतापूर्ण गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै खुला युद्धको चेतावनी दिएको छ ।
रुसी विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेटो र युरोपेली संघ (ईयू)को सदस्य इस्टोनिया रुससँग खुला युद्ध निम्त्याउने अवस्थामा पुगेको आरोप लगाएको हो ।
इस्टोनियाले रुससँगको सीमा बन्द गर्ने योजना घोषणा गरेपछि र बाल्टिक सागरमा रुसी पानीजहाजमाथि युक्रेनी आक्रमण भएपछि मस्कोको यस्तो प्रतिक्रिया आएको हो । यसै विषयमा औपचारिक विरोध जनाउदै रुसले मस्कोस्थित इस्टोनियाका कार्यवाहक राजदूतलाई विदेश मन्त्रालयमा बोलाएको थियो ।
“यस्ता उत्तेजक र अत्यन्त खतरनाक गतिविधिले रुससँग खुला युद्ध निम्त्याउने अवस्था सिर्जना गरिरहेको छ,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
उसले इस्टोनियामाथि रुसविरोधी नीति अपनाएको आरोपसमेत लगाएको छ । रुसी विदेश मन्त्रालयले इस्टोनियाले उत्तर–पश्चिमी रुसमा आक्रमण गर्न युक्रेनी ड्रोनलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न मौन स्वीकृति दिएको दाबी गरेको छ । तर, इस्टोनियाले उक्त आरोप अस्वीकार गरेको छ ।
त्यस्तै, रुसले इस्टोनियामाथि बाल्टिक सागरमा रुसी मालवाहक जहाजको आवागमनमा अवरोध पुर्याउन खोजेको, रुसी तथा बेलारुसी अन्नको पारवहनमा प्रतिबन्ध लगाएको, रुसी भाषामाथि नियन्त्रण गर्न खोजेको र रुसी अर्थोडक्स चर्च बन्द गर्ने धम्की दिएको आरोप लगाएको छ ।
रुसी विदेश मन्त्रालयले आफ्ना राष्ट्रिय हित र नागरिकको अधिकार रक्षाका लागि आवश्यक राजनीतिक तथा कूटनीतिक कदम चाल्ने अधिकार सुरक्षित रहेको जनाएको छ ।
इस्टोनियामा रुसी मूलका नागरिकको उल्लेख्य जनसंख्या छ । मस्कोले उनीहरूमाथि भेदभाव भइरहेको आरोप लगाउँदै आएको छ ।


