
३० बढी स्टलसहित नास–आईटी एक्स्पो सुरु, अवलोकनकर्ताको उत्साहजनक सहभागिता
काठमाडौं । नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको बजार विस्तार, स्टार्टअप प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीलाई प्राथमिकता दिँदै शनिबारदेखि ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको एक्स्पोमा ३० भन्दा बढी प्रविधि कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरिरहेका छन्।
एक्स्पोको पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना गरिएको दुईदिने एक्स्पोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधिलगायतका क्षेत्रमा काम गरिरहेका कम्पनी सहभागी छन्। यस वर्षको एक्स्पोमा पहिलोपटक स्टार्टअप प्याभिलियनसमेत समावेश गरिएको छ। युरोपेली संघको सहयोगमा स्थापना गरिएको उक्त प्याभिलियनमा नयाँ तथा प्रारम्भिक चरणका प्रविधि कम्पनीले आफ्ना नवीन उत्पादन, विचार र प्रविधिमा आधारित समाधान प्रदर्शन गरिरहेका छन्। यसले स्थापित कम्पनीसँगै नयाँ उद्यमीलाई पनि सम्भावित ग्राहक, लगानीकर्ता तथा व्यावसायिक साझेदारसमक्ष पुग्ने अवसर प्रदान गरेको छ।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली सूचना प्रविधि उद्योगमा आबद्ध कम्पनीका साझा समस्या समाधान, अवसरको पहिचान र बजार विस्तार गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए। करिब चार वर्षअघि स्थापना भएको नास–आईटीले नीतिगत सुधार, अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नेपाली प्रविधि कम्पनीको क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको उनले जानकारी दिए। ‘नेपाली सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरूले भोगिरहेका साझा चुनौती समाधान गर्ने र यस क्षेत्रमा रहेका अवसर पहिचान गरी उपयोग गर्ने उद्देश्यले नास–आईटी स्थापना गरेका हौँ।
स्थापनाकालदेखि नै हामीले आईटी उद्योगलाई प्रभाव पार्ने नीतिगत विषयमा काम गर्दै आएका छौँ। त्यससँगै नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि स्विट्जरल्यान्ड, बेलायत, अमेरिका र
अस्ट्रेलियालगायतका देशमा विभिन्न प्रवर्द्धनात्मक गतिविधि पनि सञ्चालन गरेका छौँ,’ उनले भने।
उनका अनुसार पछिल्लो समय सरकारी तथा निजी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ। यस्तो अवस्थामा नेपालमै विकास भएका सफ्टवेयर, प्रविधिजन्य उत्पादन तथा आईटी सेवाको प्रयोग र विस्तार गर्न आवश्यक छ। त्यसका लागि उत्पादक कम्पनी र सम्भावित ग्राहकलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले गत वर्ष पहिलोपटक नास–आईटी एक्स्पो आयोजना गरिएको थियो। पहिलो संस्करणमा प्रविधि कम्पनीका उत्पादन तथा सेवा र तिनको प्रयोग गर्न सक्ने सम्भावित ग्राहकबीच प्रत्यक्ष अन्तरक्रियाको अवसर सिर्जना गरिएको थियो। पहिलो संस्करणमा प्राप्त उत्साहजनक सहभागिता र
सकारात्मक प्रतिक्रियापछि यस वर्ष दोस्रो संस्करण आयोजना गरिएको चापागाईंले बताए।
यस वर्षको एक्स्पोले पनि नेपाली प्रविधि कम्पनीलाई आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर दिनुका साथै बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, कर्पोरेट क्षेत्र, लगानीकर्ता र सम्भावित व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष चापागाईंले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले पछिल्ला वर्षमा अघि बढाएका नीतिगत सुधारलाई सकारात्मक रूपमा लिएको बताए। तर, नेपाली प्रविधि कम्पनीको विकास र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन आगामी दिनमा पनि थप उद्योगमैत्री नीति आवश्यक रहेको उनको भनाइ छ।
‘पछिल्लो दुई वर्षमा सूचना प्रविधि क्षेत्रलाई सहयोग पुग्ने गरी सरकारले विभिन्न नीतिगत सुधारका काम अघि बढाएको छ। अहिले पनि यस क्षेत्रलाई थप सहयोग पुग्ने नीतिगत सुधारका विषयमा काम भइरहेको जानकारी पाएका छौँ। आगामी दिनमा पनि आईटी उद्योगको विकास र विस्तारका लागि उद्योगमैत्री नीति तथा कार्यक्रम आवश्यक छन्। नेपाली प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, अन्तर्राष्ट्रिय निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने।
स्वदेशी प्रविधिको बजार विस्तारमा जोड नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले नेपाली प्रविधि कम्पनीले अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाइरहे पनि स्वदेशी बजारमा तिनका उत्पादन तथा सेवाको प्रयोग अपेक्षाकृत कम रहेको बताइन्। उनका अनुसार सन् २०२४ मा प्रकाशित एक
तिवेदनले नेपालको सूचना प्रविधि सेवा निर्यात करिब ४०
करोड अमेरिकी डलर पुगेको देखाएको थियो। त्यस्तै, सन् २०२१ देखि २०२३ सम्म यस क्षेत्रमा ६४ प्रतिशत वृद्धि भएको तथ्यांकले नेपाली आईटी उद्योगको सम्भावना उजागर गरेको उनको भनाइ छ। अमेरिका, युरोप, अस्ट्रेलिया र भारतलगायतका बजारमा नेपाली प्रविधि कम्पनी तथा जनशक्तिको पहिचान बढ्दै गएको भए पनि देशभित्रै नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनमा पर्याप्त ध्यान पुग्न नसकेको उनले बताइन्।
श्रेष्ठले सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउने लक्ष्यसहित सूचना प्रविधि सेवा निर्यात ३० खर्ब रुपैयाँ पुर्याउने र पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने बजार लक्ष्य राखेको प्रसंगसमेत उल्लेख गरिन्। यस्तो लक्ष्य हासिल गर्न स्वदेशी बजारको विकास र नेपाली प्रविधिको प्रयोग विस्तार आवश्यक रहेको उनको भनाइ छ। एक्स्पोले नेपाली प्रविधि उत्पादनको प्रत्यक्ष प्रदर्शनमार्फत बजार सिर्जना गर्ने, प्रविधि कम्पनीलाई
वास्तविक ग्राहक र लगानीकर्तासँग जोड्ने, घरेलु बजारमा स्वदेशी प्रविधिको प्रयोग बढाउने र नेपाललाई अन्तर्राष्ट्रिय प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने चारवटा उद्देश्य राखेको छ।


