
सागर डिस्टिलरीको बिक्री आम्दानी ८५ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको नाफामा ८५ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्त, २०८३) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो ।
नेप्से बुल्स र गभर्नरको बिक्री बढेपछि समीक्षा अवधिमा कम्पनीको कुल बिक्री आम्दानीमा भारी वृद्धि हुनुका साथै वर्षौं देखिको अपरेटिङ घाटालाई चिर्दै कम्पनीले खुद सञ्चालन मुनाफामा पुनरागमन गरेको हो । प्रकाशित वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८५.१ प्रतिशत बढेर ११ करोड ९ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ५ करोड ९९ लाख ७० हजार रुपैयाँ मात्र रहेको थियो ।
यसैगरी, खुद बिक्री आम्दानी ६३.२ प्रतिशत वृद्धि भई ४ करोड ५० लाख ५९ हजार रुपैयाँ कायम भएको छ । बजारमा कम्पनीका उत्पादनहरूको माग उच्च हुँदा कुल मुनाफा ५८.२ प्रतिशत उक्लिँदै २ करोड ७४ लाख २३ हजार रुपैयाँ पुगेको छ । बिक्रीमा आएको यो ऐतिहासिक वृद्धिको प्रत्यक्ष सकारात्मक प्रभाव कम्पनीको सञ्चालन नतिजामा देखिएको छ । गत वर्षको पहिलो त्रैमासिकमा १ करोड ११ लाख रुपैयाँ ऋणात्मक (घाटा) रहेको सञ्चालन मुनाफा चालु वर्ष सुधार भएर ४५ लाख ६८ हजार रुपैयाँ धनात्मक बनेको छ । यसले कम्पनीको मुख्य व्यापारिक तथा बिक्री गतिविधि अब पूर्ण रूपमा सबल र नाफामूलक ट्र्याकमा फर्किएको पुष्टि गर्छ । बढ्दो व्यापार र परिचालन दक्षताका कारण कम्पनीको खुद नोक्सानी पनि ६७.९ प्रतिशतले घटेर ४९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्ष १ करोड ५३ लाख रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ (सम्पत्ति पुनर्मूल्यांकनसहित) ११९ रुपैयाँ १५ पैसा र करेन्ट रेसियो २.१८ रहेको छ ।


