
छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव थप सुदृढ पार्ने राष्ट्रपति पौडेलको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व, २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेकाका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी यो पर्व मनाउने गरिन्छ ।
दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता र समृद्धिको कामना गरी मनाइने यस पर्वले प्रकाश र ऊर्जा प्रदान गर्ने सूर्य देवको आराधनामार्फत सामाजिक र प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको राष्ट्रपति पौडेलको भनाइ छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना र पारिवारिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने उनले बताए ।
राष्ट्रपति पौडेलले छठ पर्वले सबै प्रकारका सामाजिक विभेद र विसङ्गति अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि छठी माता र सूर्य भगवान्को कृपा बनिरहोस् भन्ने कामनासमेत गरेका छन् ।


