
म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक पद छाडेको आधिकारिक जानकारी दिएको हो।
क्यारिक गत जनवरीमा पुनः क्लबमा आबद्ध भएका थिए। उनको प्रशिक्षणमा युनाइटेडले सन् २०२५/२६ सिजनको अन्तिम १७ प्रिमियर लिग खेलमध्ये १२ खेलमा जित निकालेको थियो। उक्त प्रदर्शनका आधारमा टोलीले लिगमा तेस्रो स्थान हासिल गरेको थियो। सो अवधिमा लिगका अन्य टोलीको तुलनामा युनाइटेडले सबैभन्दा बढी अंकसमेत जोडेको क्लबले जनाएको छ।
तर, नयाँ सिजनको सुरुवात अपेक्षाअनुसार हुन नसकेपछि क्लबले प्रशिक्षक परिवर्तन गर्ने निर्णय गरेको हो। क्लबका अनुसार आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न अहिले परिवर्तन आवश्यक देखिएको छ।
क्लबले क्यारिकलाई म्यानचेस्टर युनाइटेडको सधैँका लागि एक महत्वपूर्ण व्यक्तित्वका रूपमा सम्मान गर्ने जनाएको छ। खेलाडीका रूपमा क्लबमा रहँदा देखाएको समर्पण र व्यावसायिकता उनले प्रशिक्षकको भूमिकामा फर्किएपछि पनि कायम राखेको भन्दै क्लबले उनको नेतृत्व र गत सिजनको उपलब्धिलाई स्मरणीय उपलब्धिका रूपमा उल्लेख गरेको छ।
क्यारिकको स्थानमा स्थायी प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया क्लबले अघि बढाएको छ। सकेसम्म छिटो नयाँ प्रशिक्षक नियुक्त गर्ने युनाइटेडको योजना छ।


