
युरोपको रोजगारी त्यागेर मखनाखेतीमा जुटे कृष्ण, वार्षिक ५० लाख आम्दानीको सम्भावना
झापा । युरोपमा रोजगारीका लागि जाने अवसर त्यागेर आफ्नै देशमा कृषि उद्यम गर्ने उद्देश्य लिएका झापाको कचनकवल गाउँपालिका–४ का ३६ वर्षीय कृष्ण भट्टराई अहिले मखनाखेतीमा रमाइरहेका छन्। धानखेतीभन्दा राम्रो आम्दानी हुने सम्भावना देखेपछि उनले व्यावसायिक रूपमा मखनाखेती सुरु गरेका हुन्।
मखनाखेतीका जानकार जाकिर हुसेनको परामर्शमा भट्टराईले गत वर्ष पहिलोपटक १३ बिघा जमिनमा खेती सुरु गरेका थिए। यस वर्ष उनले आफ्नो १० कट्ठा र गाउँलेबाट भाडामा लिएको १३ बिघा गरी कुल १३ बिघा १० कट्ठा क्षेत्रफलमा मखनाखेती गरेका छन्। खेती र प्रशोधन व्यवसाय सञ्चालन गर्न उनले सगीता कृषि फर्म र जनजागरुप युवा कृषि फर्म दर्ता गरेका छन्।
भट्टराईका अनुसार यस वर्ष प्रतिबिघा १० देखि १२ क्विन्टलसम्म मखनाको दाना उत्पादन भएको छ। कुल उत्पादन एक सय क्विन्टलभन्दा बढी पुगेको छ। दाना प्रशोधन गर्दा तीन हजार किलोभन्दा बढी खानयोग्य मखना फूल उत्पादन हुने उनको अनुमान छ।
उत्पादनलाई बजारसम्म पुर्याउन उनले यस वर्ष मखना प्रशोधन उद्योगसमेत स्थापना गरेका छन्। खेतबाट सङ्कलन गरिएको दानालाई आगोको रापमा फुराएर मकैको फूलजस्तो सेतो मखना तयार गरिन्छ। प्रशोधित मखना प्रतिकेजी एक हजार ८०० रुपैयाँका दरले फर्मबाटै बिक्री भइरहेको छ। यस वर्षको उत्पादनबाट ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने सम्भावना रहेको भट्टराईले बताएका छन्।
यसअघि मखनाको कच्चा दाना सस्तो मूल्यमा भारतीय व्यापारीले खरिद गरेर लैजाने गरेका थिए। त्यसलाई रोक्दै नेपालमै प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने उद्देश्यले उद्योग स्थापना गरेको उनको भनाइ छ। प्रशोधनका लागि दक्ष जनशक्ति अभाव भएपछि बाहिरबाट कामदार ल्याइएको छ भने खेती र सङ्कलनका काममा स्थानीयले रोजगारी पाएका छन्।
काठमाडौँ, धनगढी र विराटनगरलगायतका सहरबाट मखना खरिदकर्ता कचनकवल पुग्ने गरेका छन्। हाल कचनकवलमा करिब २०० बिघा क्षेत्रफलमा मखनाखेती भइरहेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताएका छन्। धानखेतीभन्दा बढी आम्दानी हुने सम्भावनाले स्थानीय किसान यसतर्फ आकर्षित हुँदै गएको उनको भनाइ छ।
मखना खाजाका रूपमा मात्र नभई पूजाआजामा प्रसादका रूपमा पनि प्रयोग गरिन्छ। नेपालले भारतबाट ठूलो परिमाणमा मखना आयात गर्दै आएको अवस्थामा स्थानीय उत्पादन र प्रशोधन विस्तारले स्वदेशी बजारमा आयात प्रतिस्थापनको सम्भावना बढाएको छ।


