
झापामा सशस्त्र प्रहरीद्वारा करिब साढे २३ लाख मूल्य बराबरका अवैध पटाका नष्ट
झापा। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले विभिन्न समयमा बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ। आगामी तिहार तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले गण तथा मातहतका युनिटबाट खटिएको चेकिङ टोलीले विभिन्न मिति र स्थानबाट ती सामग्रीहरू नियन्त्रणमा लिएको थियो।
चाडपर्वका बेला पटाका तथा आतिसबाजीको प्रयोगले आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति हुनुका साथै ध्वनि तथा वातावरणीय प्रदूषण बढ्ने उच्च जोखिम रहन्छ। यस्तो जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले अवैध रूपमा ओसारपसार र बिक्री-वितरण भइरहेका विष्फोटक सामग्री नियन्त्रण गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
पटाका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पार्ने भएकाले यस्ता वस्तुको प्रयोग नगर्न सशस्त्र प्रहरीले सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ।
उक्त सामग्री नष्ट गर्ने कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


