
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?
काठमाडौं । बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी प्रहरी महानिरीक्षक (आईजीपी) बने । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।
सरकारले दानबहादुर कार्कीलाई उक्त पदबाट हटाएर केसीलाई सङ्गठनको नेतृत्व सुम्पिएको हो । नुवाकोटको तुप्चेमा जन्मिएका केसी प्रहरी सेवामा कार्कीकै ब्याचका अधिकृत हुन् । उनीहरू चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । केसीको प्रहरी करियरमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान महत्त्वपूर्ण मानिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले लामो समयदेखि अघि बढ्न नसकेको उक्त प्रकरणको अनुसन्धानलाई गति दिएका थिए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध उनले अनुसन्धान अघि बढाएका थिए । उनकै नेतृत्वको टोलीले १२ चैत २०७९ मा यस प्रकरणका आरोपी केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो । त्यसपछि सङ्गठित अपराधअन्तर्गत अनुसन्धान अघि बढ्दै जाँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।
त्यतिबेला केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थिए । कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनको नेतृत्वको टोली खाँड निवास पुगेको थियो । यही घटनापछि कांग्रेस नेतृत्व केसीसँग असन्तुष्ट बनेको थियो । कांग्रेस सरकारमा रहँदासम्म उनले महत्त्वपूर्ण जिम्मेवारी पाउन नसकेको प्रहरी वृत्तमा चर्चा हुने गरेको थियो । भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिरहेका बेला ४ भदौ २०८० मा तत्कालीन सरकारले उनलाई जिम्मेवारीबाट हटाएको थियो । त्यसपछि ५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो । सीआईबीपछि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पुगेका थिए । प्रहरी सङ्गठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएका केसी अब सङ्गठनकै सर्वोच्च नेतृत्वमा पुगेका छन् ।


