
वायु प्रदूषण नियन्त्रण गर्न महानगरको आग्रह, फोहोर जलाउने र मापदण्डविपरीत धुवाँ फाल्ने कार्य नगर्न अनुरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले बढ्दो वायु प्रदूषण नियन्त्रण तथा रोकथामका लागि महानगरवासीलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ। जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको स्तर बढ्न सक्ने भन्दै महानगरपालिकाले प्रदूषण न्यूनीकरणका उपाय अवलम्बन गर्न अनुरोध गरेको हो।
महानगरपालिकाका अनुसार काठमाडौंमा वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उत्पन्न हुने धुलो, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँ र धुलो तथा खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउँदा निस्कने धुवाँ हुन्।
जाडो मौसममा चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जित प्रदूषित हावा सहज रूपमा फैलिन नसक्ने भएकाले प्रदूषणको स्तर बढ्ने महानगरपालिकाले जनाएको छ।
खराब वायु गुणस्तरका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति र दीर्घरोगीहरू बढी जोखिममा पर्ने महानगरको भनाइ छ।
वायु प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले खुला रूपमा फोहोरमैला जलाउन प्रतिबन्ध लगाउनुका साथै प्रदूषण मापदण्डविपरीत धुवाँ उत्सर्जन गर्ने सवारीसाधनलाई कानुनी दायरामा ल्याउने काम गर्दै आएको जनाएको छ।
महानगरपालिकाले सवारीसाधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्न र नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न आग्रह गरेको छ। त्यस्तै, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा थुपार्न नहुने र सामग्री ढुवानी तथा लोड–अनलोड गर्दा धुवाँधुलो निस्कन नदिन पनि अनुरोध गरेको छ।
त्यसैगरी, प्लास्टिकजन्य तथा अन्य फोहोरमैला खुला रूपमा नजलाउन, उद्योग, कलकारखाना तथा अस्पतालहरूले महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्ड पालना गर्न महानगरले आग्रह गरेको छ।
उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्न तथा सर्वसाधारणलाई व्यक्तिगत सुरक्षाका लागि बाहिर हिँडडुल गर्दा मास्क लगाउन पनि महानगरपालिकाले अनुरोध गरेको छ।
वायु प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि महानगरपालिकाले गर्दै आएका प्रयासलाई सफल बनाउन सबै महानगरवासीको साथ र सहयोग आवश्यक रहेको वातावरण व्यवस्थापन विभागले जनाएको छ।


