
विकास बैंकको निष्क्रिय कर्जा सामान्य बढ्यो, कुन बैंकको कति ?
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एनपीएल ०.०७ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ८ वटा राष्ट्रिस्तरका विकास बैंकको औसत निष्क्रिय कर्जा ५.८१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको औषत एनपीएल ५.७४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा ८ वटा मध्ये ५ बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ भने ३ वटा विकास बैंकले एनपीएल गत आवको भन्दा घटेको छ ।
समीक्षा अवधिमा सबैभन्दा कम निष्क्रिय कर्जा कामना सेवा विकास बैंकको रहेको छ । बैंकको एनपीएल गत आवको भन्दा चालु आवको पहिलो त्रैमासिकसम्ममा ०.४८ प्रतिशतले घटेको छ । बैंकको एनपीएल चालु आवको पहिलो तीन महिनामा ३.९३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकको एनपीएल ४.४१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकले पनि निष्क्रिय कर्जा घटेको छ । यो अवधिमा लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको असोजसम्म ७.७८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर ६.९९ प्रतिशतमा आएको छ । बैंकले ०.७९ प्रतिशत बिन्दुको सुधार गरेको हो । यसैगरी ज्योति विकास बैंकको यस्तो अनुपात ७.९७ प्रतिशतबाट घटेर ७.१७ प्रतिशतमा झरेको छ ।
त्यस्तै समीक्षा अवधिमा राष्ट्रिय स्तरका ५ वटा विकास बैंकको निष्क्रिय कर्जा बढेको छ । समीक्षा अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एनपीएल गत आर्थिक वर्षको असोज मसान्तमा ४.६१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सामान्य बढेर ४.७१ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१० प्रतिशत बिन्दुले बढेको हो । त्यस्तै मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा अनुपात भने ४.०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ । त्यस्तै गरिमा विकास बैंकको निष्क्रिय कर्जा ४.७३ प्रतिशतबाट बढेर ४.८१ प्रतिशत पुगेको छ । गत वर्षको तुलनामा बैंकको यस्तो अनुपात ०.०८ प्रतिशत बिन्दुले बढेको हो । महालक्ष्मी विकास बैंकको अवस्था भने तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षको असोज मसान्तमा ५.५० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ६.४९ प्रतिशत पुगेको छ । यो एक वर्षको अवधिमा ०.९९ प्रतिशत बिन्दुको वृद्धि हो । ८ विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा अनुपातमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ ।
यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा अनुपात पनि उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.८६ प्रतिशत रहेको बैंकको यस्तो अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७.६४ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.७८ प्रतिशत बिन्दुले बढेको हो । बैंकहरूले प्रवाह गरेको कर्जामध्ये समयमा साँवा तथा ब्याज भुक्तानी हुन नसकी निष्क्रिय कर्जामा वर्गीकरण हुने कर्जाको अनुपात बढ्नुलाई बैंकिङ क्षेत्रका लागि चुनौतीपूर्ण अवस्थाका रूपमा लिइन्छ । वित्तीय विवरणले अधिकांश विकास बैंकमा यस्तो कर्जाको अनुपात बढेको देखाएको छ ।


