
अन्डाको मूल्य प्रतिपेटी २ सयसम्म बढ्यो, कति पर्छ अब ?
काठमाडौं । चाडपर्वको सिजन र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म (होलसेल) मूल्य फेरि बढाएको छ ।
यसअघि ६ कात्तिकमा काठमाडौंमा बसेको बैठकले तय गरेको मूल्यलाई ६ दिनपछि नै परिमार्जन गर्दै संघले आज बिहीबार पोखरामा बसेको बैठकबाट अन्डाको नयाँ समर्थन मूल्य तोकेको हो ।
नयाँ निर्णय अनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) २ सय रुपैयाँ बढेको छ भने सानो अन्डाको मूल्य प्रतिपेटी १ सय रुपैयाँले वृद्धि भएको छ ।
संघको तथ्यांक अनुसार ६ कात्तिकमा ३ हजार ७ सय रुपैयाँ रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अन्डाको मूल्य अब ३ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यसैगरी १३.५ देखि १३.८ किलोको ठूलो अन्डाको मूल्य ३ हजार ६ सयबाट बढेर ३ हजार ८ सय रुपैयाँ तथा १२.५ देखि १२.८ किलोको मिडियम अन्डाको मूल्य ३ हजार ५ सयबाट बढेर ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । ११ किलोभन्दा माथिको सानो अन्डाको मूल्य भने ३ हजार १ सयबाट बढेर ३ हजार २ सय रुपैयाँ पुगेको छ ।
संघ सचिव मदन पोखरेलले चिसो सुरु भएसँगै उत्पादनको तुलनामा बजारमा खपत उच्च भएको बताएका छन् । ‘अहिले चाडबाडको समय छ भने अर्कातिर चिसो मौसम (जाडो) पनि सुरु भइसकेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘जाडो र चाडपर्वले गर्दा बजारमा अन्डाको माग ह्वात्तै बढेको छ, माग अनुसार आपूर्ति व्यवस्थापन गर्न र लागत अनुसार किसानलाई उचित मूल्य दिन यो समर्थन मूल्य तय गरिएको हो ।’
होलसेल अर्थात् फार्म मूल्य प्रतिपेटी २ सय रुपैयाँसम्म बढे पनि संघले उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरेको जनाएको छ ।
उपभोक्ताले खुद्रा पसलमा किन्दा ठूलो अन्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अन्डा २ गोटाको ४५ रुपैयाँ तोकिएको छ । संघले सम्पूर्ण डिपो, डिलर तथा व्यवसायीलाई तोकिएकै समर्थन मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ ।


