
एनपीएल सिजन ३ : कर्णालीको लगातार दोस्रो जित, विराटनर पराजित
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै कर्णालीले लगातार दोस्रो जित निकालेको हो ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९ ओभार ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । कर्णालीका लागि कप्तान सोमपाल कामीले ६२ रनको योगदान दिए । त्यस्तै पवन सरापले ३६ रन बनाए भने मार्क वाटले ३२ रनको पारी खेले । गुल्सन झाले पनि टोलिका लागि २८ रनको पारी खेले । विराटनगरका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिए । त्यस्तै प्रतिश जिसी र सन्दीप लामिछानेले पनि समान एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि ओपनर लोकेशले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए । बमले ३ चौका र ९ छक्का प्रहार गरे । चौथो विकेटका लािग लोकेशले एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए ।
१६ औं ओभरको पाँचौं बलमा कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भएसँग लोकेश एनपीएलमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले चुके । एन्जेलो २२ बलमा ३१ रनमा आउट भए । ओपनर इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट भए । आन्द्रे रसेल १५ बलमा २७ रन बनाएर आउट भए । बसिर अहमद १३ रनमा आउट भए । बलिङमा कर्णालीका लागि कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । त्यस्तै मार्क वार्ट र नन्दन यादवले एकएक विकेट लिए ।


