
नविल बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा दियो आवेदन
काठमाडौं । नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बैंकले असोज २८ गते दिएको आवेदन अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने प्रस्ताव गरिएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ भने लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन् ।
प्रस्तावित ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको हिस्सा निजी तवरबाट बिक्री गरिनेछ । त्यस्तै, बाँकी १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिनेछ । यसको कुल मूल्य १ अर्ब ६० करोड रुपैयाँ बराबर हुनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि बैंकले ऋणपत्र निष्कासन प्रक्रिया अघि बढाउनेछ ।


