
१० अर्बको ट्रेजरी बिल बोलकबोल प्राविधिक समस्याका कारण रद्द
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल निष्कासनका लागि सोमबार तय गरेको बोलकबोल प्रक्रिया स्थगित गरेको छ। ऋण व्यवस्थापन तथा सञ्चालन प्रणाली (डोम्स)मा प्राविधिक समस्या देखिएपछि कार्यालयले उक्त निर्णय गरेको हो।
कार्यालयले यसअघि असोज ३० गते सूचना जारी गर्दै ९१ दिन अवधिको नयाँ ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणमार्फत थप ५ अर्ब रुपैयाँ जुटाउने योजना सार्वजनिक गरेको थियो।
निर्धारित कार्यतालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुनुपर्ने थियो। तर, प्रणालीमा समस्या देखिएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।
कार्यालयका अनुसार डोम्स प्रणालीमा पीएचपी लगायतका प्रविधिसम्बन्धी सुधार तथा मर्मतको काम भइरहेको छ। सूचना प्रविधि टोलीले प्रणालीमा देखिएको समस्या समाधान गर्न काम गरिरहेको छ।


