
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानलाई अझ सुदृढ बनाउँदै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणमा योगदान गर्न बडादसैँले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
बडादसैँ–२०८३ का अवसरमा आज शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, एकता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ बनाओस् भन्ने शुभेच्छा प्रकट गरेका हुन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। दसैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको मौलिक पर्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बताएका छन्।
मान्यजनबाट टीका र जमरा ग्रहणसँगै आशीर्वाद लिने परम्पराले पनि यस पर्वको महत्त्व बढाएको उनको भनाइ छ। ‘घटस्थापनादेखि विजयादशमीसम्मका धार्मिक अनुष्ठान’ तथा ‘पारिवारिक पुनर्मिलनले हाम्रो सांस्कृतिक विरासतलाई जीवन्त बनाएका छन्’ भन्दै उनले पुस्तान्तरण हुँदै आएका संस्कारको संरक्षणमा जोड दिएका छन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले समृद्ध राष्ट्र भएको उल्लेख गर्दै उनले नेपालको संविधानले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गरेको बताएका छन्। संविधानले सबै समुदायका भाषा, संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा संवर्द्धनलाई महत्त्व दिएको उनको भनाइ छ। अध्यक्ष दाहालका अनुसार ‘सबै धर्म, सम्प्रदाय र समुदायका चाडपर्वप्रति समान सम्मान’ र सहिष्णुता राख्दै ‘विविधताभित्रको एकतालाई बलियो बनाउनु सबैको साझा दायित्व हो’।


